Connect with us

पत्रपत्रिकाबाट

काठमाडौंमा ४२ ब्राण्डका दूध मध्ये ४० मा भेटियो सोडा !

Published

on

२९ जेठ  काठमाडौं । अहिले काठमाडौंमा दैनिक साढे ५ लाख लिटर हाराहारी प्रशोधित दूध (पाउच) उपभोक्ताले दैनिक खपत गरिरहेका छन् । हरेक दिन काठमाडौं सहरबाट कम्तीमा २ करोड ९७ लाख रुपैयाँ किसानले गाउँ लैजान्छन् ।

कृषि उपजमध्ये सहरबाट सर्वाधिक मुद्रा गाउँ पुर्‍याउने यो मुख्य वस्तुको गुणस्तर खस्केको, स्वास्थ्यलाई हानि पुर्‍याउने अखाद्य वस्तु मिसावट भएको गुनासो तालुक मन्त्रालयसमक्ष पुगेपछि सोमबार कृषिमन्त्री चक्रपाणि खनालले राजधानीका चारवटा डेरीमा छापा मारे ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण, फुड इन्स्पेक्टरसहित बालाजु औद्योगिक क्षेत्र पुगेका मन्त्री खनालले औद्योगिक क्षेत्रभित्र सञ्चालित आधुनिक डेरी प्रोडक्ट लिमिटेड, सामूहिक कृषक लिमिटेडको सुलभ दूध, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र औद्योगिक क्षेत्र बाहिरको पुष्प डेरी फार्ममा छापा मारेका थिए।
यी सबैमा सरसफाइको कमी देखिन्थ्यो । यीमध्ये दूध बनाउन प्रयोग गरिने धूलो दूधका बोरामा उत्पादन म्याद नखुलेको भेटिएपछि आधुनिक डेरीका ३ र पुष्प डेरीको एक गरी ४ वटा गोदाममा मन्त्री खनालले सिलबन्दी गराए ।

मन्त्रि ले छापा मर्नु अघि २५ ओटा डेरी उद्योग का ४२ वोटा ब्रान्डका दुध पाउच संकलन गरेका थिए जस मध्ये ४० वोटा मा मानव स्वास्थ्य लाइ हानिकारक सोडियम बाइकर्बोनेट (सोडा)   फेला परेको महानिर्देशक कर्ण ले बताए ।

धूलो दूध बाक्लो दही बनाउन तथा दूधमा हुने ठोस पदार्थ (एसएनएफ) को मात्रा बढाउन प्रयोग गरिन्छ । त्यस्तै उद्योगीले किसानबाट दूधकम संकलन नहुने अवस्थामा धूलोबाटै प्रशोधित दूध बनाई चिल्लो पदार्थ (फ्याट) मिश्रण गरी बिक्री गर्छन्।

यस अघि बुधबार डिडिसिले मन्त्रालयलाइ १२ वोटा डेरिको दुधको गुणस्तर जाँचेर प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमा ७ वोटा डेरिले सोडा मिसाउने गरेको उल्लेख गरेको छ।

यो खबर आजकोकान्तिपुर दैनिकमा छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

जीवनशैली

साइक्लिङ: मुटुको स्वास्थ्यका लागि लाभदायक

Published

on

१८ फाल्गुन- काठमाडौँ — मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल आफूकहाँ मुटु रोग उपचारका लागि आउने धेरैजसो बिरामीलाई नियमित साइकल चलाउने सल्लाह दिन्छन् । उनी साइकल चलाउनुलाई ‘काममै व्यायाम’ बताउँछन् ।

शारीरिक रूपमा आफूलाई सक्रिय राख्न मर्निङवाक, जगिङ, दौड, पौडी, पैदल हिँडाइ, ट्रेड मिलमा हिँडाइलगायत जुनसुकै तरिका अपनाउन सकिन्छ । तर साइक्लिङको विशेष महत्त्व के छ भने, यो सबैका लागि उपलब्ध र उपयुक्त हुनुको साथै यसमा व्यायामसँगै कार्य सम्पादनसमेत हुन्छ । यसले तपाईंको शक्ति, सन्तुलन र समन्वय बढाउँछ ।
साइकल चलाउँदा मुटु सामान्यभन्दा बढी धड्किन्छ । यसले रक्त सञ्चार राम्रो हुनुको साथै हाम्रो मांसपेशीलाई सही आकारसमेत दिन्छ । साइक्लिङले हाम्रो काम गर्ने स्टामिना (सहनशीलता) बढाउन समेत सघाउँछ । साइकल चलाउँदा मुटुलगायतका रोगमा देखिने लाभबारे भने अहिलेसम्म देशमा कुनै खास अध्ययन भएको भने छैन ।
डा. ओममूर्तिले आफूकहाँ उपचार र सल्लाहका लागि आउने अधिकांश साइकल यात्रीमा मुटु रोग र यसको जोखिम अन्य व्यक्तिको दाँजोमा कम पाएको बताउँछन् । ‘मेरो अनुभव र अवलोकनमा साइकल चलाउनेहरूको मुटु बढी स्वस्थ रहनुको साथै मुटुसम्बन्धी रोगहरूको जोखिम पनि कम देखिन्छ,’ डा. ओममूर्ति भन्छन्, ‘मेरो प्रत्यक्ष अनुभवमा उमेरले छ दशक नाघिसकेका भए पनि साइकल चलाइरहेकाहरू अन्यको दाँजोमा बढी स्वस्थ छन् ।’ साइकल चलाउनु जीवन्त व्यायाम हो । यसमा बारम्बार एउटै स्थलमा उस्ताउस्तै प्रक्रिया दोहर्‍याएर झर्को लाग्ने हुँदैन । शरीरको विभिन्न अवयवको व्यायाम हुनुका साथै हरेक पल एकाग्र रहनुको साथै मन र मस्तिष्कसमेत सक्रिय रहन्छ ।
‘हामी सबैका लागि शारीरिक सक्रियता, व्यायाम अत्यावश्यक छ । दैनिक आवश्यकताका लागि सुरक्षित रूपमा साइकल चढ्नु सबैभन्दा उपयुक्त प्रक्रिया हो,’ डा. ओममूर्ति भन्छन्, ‘शारीरिक रूपले सक्रिय वयस्कहरूमा असामयिक मृत्यु हुने सम्भावना ३० प्रतिशतसम्म कम हुन्छ भने मुटु रोग, मधुमेह, क्यान्सर, स्ट्रोक आदि जस्ता दीर्घ रोगहरू विकसित हुने सम्भावना आधाभन्दा कम हुन्छ ।’ शारीरिक सक्रियता नभएकाहरूलाई सक्रिय व्यक्तिको दाँजोमा हार्ट अटयाक हुने सम्भावना दोब्बर हुने आंैल्याउँदै डा. ओममूर्ति थप्छन्, ‘शारीरिक सक्रियताको कमीले उत्पन्न हुने जोखिम र दिनहुँ २० खिल्ली चुरोट खाएर हुने जोखिम उस्ताउस्तै हो भन्नेचाहिँ नसोच्नुस् ।’
ब्रिटिस हार्ट फाउन्डेसन (बीएचएफ) का अनुसार पनि साइक्लिङ स्वस्थ मुटुका लागि धेरै लाभदायक छ । साइक्लिङ सहज, सुलभ र सस्तो यात्रा साधन र वातावरणमैत्री मात्रै नभई यसलाई आफ्नो जीवनमा अंगिकार गर्दा मुटुका साथै समग्र स्वास्थ्यमै सकारात्मक प्रभाव पार्छ । साइकल चलाउँदा हामीले राम्रो अनुभव गर्ने न्युरो ट्रान्समिटर ‘इन्डोर्फिन’ शरीरमा निस्किन्छ । दिनहुँ दुई पटक कम्तीमा आधा घन्टाकै भए पनि साइकल चढेर छोटो दूरीको यात्रामा निस्कँदा पनि मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै मुटु तथा रगतका नलीहरू (कार्डियो भास्कुलर) सम्बन्धी प्रणालीलाई पनि धेरै फाइदा पुर्‍याउँछ । साइकलको सिटले तपाईंको शरीरको करिब ७० प्रतिशत तौल सम्हाल्ने भएकोले तपाईंको जोर्नीमा दबाब धेरै कम पर्छ ।
साइकल चलाउँदा शरीरका सबै मांसपेशीहरू सक्रिय मात्र नभएर यसको उपयोगसमेत हुन्छ । यसअन्तर्गत हामीले प्याडल चलाउने भएकोले खुट्टाको मांसपेशी सबैभन्दा बढी सक्रिय हुन्छ । यति मात्र नभई पेट, पिठ्युँ, हात लगायतका मांसपेशीहरूसमेत सक्रिय हुन्छन् । बीएचएफका अनुसार साइकल चलाउनुले हाम्रो सम्पूर्ण शरीरलाई शक्ति प्रदान गर्छ ।
के भन्छ अध्ययनले ?
एउटा अध्ययनको दाबीअनुसार नियमित साइकल चलाइरहेका वा चलाउन सुरु गरेकाहरूमा साइकल नचलाउनेको दाँजोमा उच्च रक्तचाप, मधुमेह, उच्च ट्राइग्लिसराइड र मोटोपनाको जोखिम धेरै कम हुन्छ । ४३ वर्ष औसत उमेर भएका करिब २४ हजार स्विडिसमा एक दशकसम्म गरिएको यो अध्ययन अमेरिकन हार्ट जर्नलमा प्रकाशित छ । यस्तै, जर्नल सर्कुलेसनमा प्रकाशित र ५०–६५ वर्ष उमेर समूहका करिब ४५ हजार डेनिसमा गरिएको अध्ययनअनुसार सातामा आधा घण्टादेखि एक घण्टासम्म साइकल चलाउनेहरूमा साइकल नचलाउनेको तुलनामा धेरै कम मात्रामा हार्ट अटयाक हुने सम्भावना हुन्छ । दुई दशकसम्म गरिएको यो अध्ययनले साइक्लिङलाई कोरोनरी मुटु रोगबाट बचावटका लागि सबैभन्दा राम्रो उपाय रहेको सुझाएको छ ।
नियमित चलाउँदा
– मुटु र रक्त नलीसम्बन्धी स्वास्थ्य राम्रो हुन्छ ।
– शरीरको बोसोको स्तर कम गर्छ ।
– जोर्नीको गतिशीलता बढाउँछ ।
– चिन्ता र उदासीपना कम गर्छ ।
– शारीरिक र मानसिक स्वास्थ्य राम्रो बनाउँछ ।
– मांसपेशीको शक्ति र लचिलोपन बढाउँछ ।
– मोटोपना घटाउनुका साथै तौल नियन्त्रण गर्छ ।
– तनावको स्तर घटाउँछ ।
– हाड बलियो बनाउँछ ।
– धेरै रोगबाट जोगाउँछ ।
कसले साइकल चलाउने ?
जोर्नीको समस्या भएकाहरू, शारीरिक सन्तुलनको समस्या वा अति वृद्घबाहेक हरेक व्यक्तिले साइकल चलाउन सक्छन् । डा. ओममूर्तिका अनुसार, मुटु रोगी, उच्च रक्तचाप भएकाहरू, मधुमेहका रोगी, हृदयाघात भइसकेकाहरू लगायत सबै खाले व्यक्तिले सुरक्षित तरिकाले साइकल चलाउन सक्छन् । मुटु रोगी वा हार्ट अटयाक भइसकेकाले समेत व्यायाम गर्न बन्द गर्नु हँुदैन । तर अति व्यायामबाट पनि बच्नुपर्छ । जोर्नीको दुखाइ भएकाहरूले विशेषज्ञको सल्लाहमा साइकल चलाउन सक्छन् ।
धेरै गर्मी वा धेरै जाडोमा साइकल चलाउनबाट बच्नुस् । यसले रक्तसञ्चारलाई प्रभावित गर्न सक्छ । साइकल चलाउँदा सास फेर्नमा समस्या भए वा धेरै बढी थकाइ लागे चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
साइकल चलाउँदा
– हेल्मेट मात्र नभई घुँडा र कुहिनोको गार्डसमेत लगाउनुस् ।
– मौसमअनुसारको उपयुक्त लुगा लगाउनुस् ।
– उमेर र क्षमताअनुसार आफ्नो लक्ष्य निर्धारण गर्नुस् ।
– पर्याप्त मात्रामा पानी पिउनुस् ।
– साइकल चलाउनुअघि मांसपेशीलाई तताउन (वार्म अप) र तन्काउन (स्ट्रेच) नबिर्सनुस् ।
साभार: अतुल मिश्र,कान्तिपूर दैनिक 

 

Continue Reading

जीवनशैली

दाह्री काट्न आउँछ ?

Published

on

अतुल मिश्र, काठमाडौं, २३ पाैष— हामीले नियमित रूपमा दाह्री काट्ने गरेका छौं । तर दाह्री कसरी काट्दा स्वस्थकर एवं वैज्ञानिक हुन्छ भन्ने जानकारी कमैलाई हुन सक्छ । हामीमध्ये धेरैजसोले दाह्री काट्ने तरिका आफ्ना बुवा, काका, दाइ वा कुनै आफन्तबाट सिकेका हुन्छौं ।

विदेशमा छुरा/ब्लेड वा मेसिनले दाह्री काट्ने गरिन्छ भने हाम्रो मुलुकमा अझै पनि छुरा/ब्लेडकै प्रयोग बढी हुने गर्छ । ‘गलत रूपले दाह्री काट्दा सबैभन्दा बढी फलिक्युलाइटिस अर्थात् हाम्रो रौंको जरो (रोमछिद्र) मा संक्रमण हुन्छ,’ छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, ‘दाह्री काट्न नजान्दा हामीले धेरै प्रकारका संक्रमण, छालासम्बन्धी समस्या निम्त्याउन सक्छौं ।’
थुप्रै व्यक्तिका लागि दाह्री काट्नु पीडादायक प्रक्रियासमेत हुने गर्छ । उनीहरू दाह्री काट्ने सही तरिका थाहा नभएर वा छिटछिटो त्यो काम सम्पन्न गर्ने निहुँमा आफूलाई नोक्सान पुर्‍याउँछन् । दाह्री काट्नका लागि व्यक्तिविशेषले आफूअनुकूल उपयुक्त समय, ब्लेड, साबुन र प्रक्रिया चयन गर्नुपर्ने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘अनुहारमा डन्डीफोर/एक्ने भएकाहरू, रूखो वा संवेदनशील छाला भएकाहरू, विभिन्न प्रकारका एलर्जी लगायतका समस्यासँग जुध्नेहरूले आफूलाई अनुकूल हुने गरी दाह्री काट्ने सामग्री र तरिका अपनाउनुपर्छ ।’
डन्डीफोर भएकाहरूले विशेष सावधानी अपनाउनुपर्छ । नत्र समस्या अझ गम्भीर हुन सक्छ । यस्ता व्यक्तिले इलेक्ट्रिक रेजरले दाह्री काट्ने गर्नुपर्छ, यद्यपि यसो गर्दा ब्लेडले काट्दा जस्तो चिल्लो नहुन सक्छ ।
अर्को कुरा, दाह्री काट्नलाई परम्परागत रूपको एउटा ब्लेड भएको रेजरको दाँजोमा घुम्ने टाउको भएको, न्यूनतम दुई वा योभन्दा बढी ब्लेडसहितको रेजर उपयुक्त हुन्छ । केही वर्षयता आएका दुई, तीन, चार वटा ब्लेड भएका रेजरहरू चलाउन सजिलो हुनुका साथै जोखिमको सम्भावना पनि कम हुन्छ ।
धारिलो नभएको वा धेरैपटक प्रयोगमा आइसकेको ब्लेडले दाह्री काट्दा समस्या हुन सक्छ । यस्तो अभ्यासले छाला रातो हुन सक्छ । साथै गाला वा घाँटीमा छाला ताछिने, कालाकाला दाग आउने पनि हुन सक्छ ।
‘यति मात्र नभई धार नभएको ब्लेडले रौंसँगै तपाईंको छालाको केही मात्रासमेत खौरेर बाहिर निकाल्छ,’ डा. कर्ण आंैल्याउँछन्, ‘रेजरलाई छालामा बेस्सरी नभएर हल्का दबाब दिएर दाह्री खौरनुपर्छ ।’
उपयुक्त ब्लेड चयनपछि दाह्री काट्नका लागि सही साबुन अर्थात् सेभिङ जेल वा फोम रोज्नुपर्छ । ‘दाह्री काट्नुअघि अनुहारलाई पानीले राम्ररी भिजाएर साबुन लगाउनुपर्छ । यसले छाला/रौं र ब्लेडबीच हुने घर्षण चिप्लो बनाउँछ र अनुहारमा हुन सक्ने नोक्सानलाई कम गर्छ ।’ डा. कर्णका अनुसार बास्ना आउने विभिन्न प्रकारका सेभिङ क्रिम, जेल, फोम वा साबुनले एलर्जीसमेत हुन सक्ने भएकाले आफूलाई कुन उपयुक्त हुन्छ भन्ने थाहा पाउनुसमेत आवश्यक हुन्छ ।
अनुहारमा दाह्री कुन दिशाबाट उम्रेको छ र कतातर्फ गइरहेको छ भन्ने बारेसमेत विशेष ध्यान दिनुपर्छ । जुन दिशामा रौँ उम्रेको छ, सधैंभरि त्यही दिशामा काट्ने प्रयास गर्नुपर्छ । धेरैजसो व्यक्तिले अनुहार चिटिक्क पार्न भनेर दाह्री उम्रेको दिशाविपरीत काटने गर्छन् । यसो गर्दा अनुहार बढी सफा त देखिन्छ तर छालाभित्र भएको रौँसमेत काटिन्छ । दाह्री उम्रेको दिशाविपरीत काट्दा अनुहारमा जलन, रातोपना, धब्बा, दाग, संक्रमण आदि हुने सम्भावना बढ्छ ।
दाह्री काट्दा छालामा भएको प्राकृतिक तेल, मोइस्चराइजर आदिसमेत खुर्किने हुन्छ । त्यसैले दाह्री काटिसकेपछि अनुहारमा एन्टिसेप्टिक पदार्थ लगाउनुपर्छ । मोइस्चराइजर तेल आदि लगाउँदा पनि राम्रै हुन्छ । यसो गर्नालेअनुहारको छाला थप सुक्खा हुन पाउँदैन ।
दाह्री के हो ?
प्राय: पुरुष अनुहारमा मुखमाथिवरिपरि बाक्लै आउने रौँलाई दाह्रीजुँगा भनिन्छ । जुँगा माथिल्लो ओठमाथि पलाउँछ भने दाह्री तल्लो ओठको तलदेखि चिउँडो र घाँटी हुँदै दुवै कानको जरासम्म फैलिन्छ । दाह्रीजुँगा शरीरको अन्य रौँजस्तै प्रोटिन (क्याराटिन) र प्रोटिनसँग मिल्दोजुल्दो वस्तुबाट बन्ने गर्छ । हाम्रो शरीरमा दाह्रीजुँगाको रौं नै सबैभन्दा बढी लचिलो र बलियो हुन्छ । एक व्यक्तिको अनुहारमा औसत करिब २५ हजारजति रौं हुन्छन् । अनुहारको रांै एक
दिनमा आधा मिलिलिटरको गतिले बढ्ने गर्छ ।
कुन समय उपयुक्त ?
कतिपय व्यक्तिले बिहान उठ्नासाथ त, कतिले साँझतिर वा केहीले त बिहान र साँझ दुवै समयमा दाह्री काट्ने गर्छन् । अमेरिकन एकेडेमी अफ डर्मेटोलजी (एएडी) का अनुसार दाह्री नुहाएलगतै काट्नु उपयुक्त हुन्छ । यो समय छाला पानीले राम्ररी भिजेको हुन्छ ।
अझ मनतातो पानीले नुहाएपछि दाह्री काट्नु निकै राम्रो मानिन्छ । मनतातो पानीले राम्ररी भिजाएर दाह्री काट्दा मासंपेशीले आराम पाउँछ, रोमछिद्रसमेत खुला हुन्छ ।
दाह्री काट्दा
  • मनतातो पानीले अनुहार राम्ररी भिजाउनुपर्छ ।
  • उपयुक्त सेभिङ क्रिम, जेल वा साबुन लगाएर अनुहारमा सेभिङ ब्रसको सहयोगले राम्ररी दल्नुपर्छ । यसो गर्दा दाह्री नरम मात्र हँुदैन, छालामाथिको मृतकोषिकासमेत हट्छ ।
  • जेल वा फोम औँलाले होइन, सेभिङ ब्रसले अनुहारमा लगाउनुपर्छ । यसो गर्दा मजाले पिँmज आउँछ, छालाको रक्तसञ्चार बढ्छ, अनुहारको व्यायामसमेत हुन्छ । क्रिम राम्ररी लागेपछि दाह्री काट्न सजिलो हुने भइहाल्यो ।
  • दाह्री काट्नुभन्दा अघि नै ब्लेड धारिलो छ कि छैन भन्ने सुनिश्चित गर्नुपर्छ । ब्लेडको गुणस्तर हेरेर, प्रयोग गर्दा दुखाएको छ कि, यो कुरा विचार गरेर निश्चित अन्तरालमा ब्लेड बदल्नुपर्छ ।
  • रेजरले अनुहारमा लामो स्ट्रोक्स लगाउनुपर्छ । यसो गर्दा ब्लेडमा दबाब कम पर्छ, राम्रो सेभिङ हुन्छ ।
  • दाह्री काट्दा रेजरलाई बारम्बार पानीले सफा गर्नुपर्छ । यसो गर्दा रेजरमा अडकेको रौँ निस्किन्छ र राम्ररी काट्छ ।
  • रेजरको प्रयोग रांै उम्रने दिशातिर गर्नुपर्छ । घाँटी, गाला, ओठ तल लगायत भागमा रांै उम्रने दिशा फरकफरक हुन्छ ।
  • दाह्री काटेपछि अनुहार मनतातो वा सामान्य पानीले राम्ररी धोएर एन्टिसेप्टिक लोसन, फिटकिरी अनि जाडो याम भए मोइस्चराइजर लगाउनुपर्छ ।
  • दाह्री काट्दा हुन सक्ने संक्रमणबाट जोगिन रेजरलाई सधैँ राम्ररी धोएर सुक्खा राख्नुपर्छ । सातामा एक पटक तातो पानीमा उमाल्ने वा घाममा केही बेर राख्ने गर्दा संक्रमणको सम्भावना कम हुन्छ ।
  • आफूले उपयोग गर्ने रेजर अरूलाई दिनु हुँदैन । सैलुनमा दाह्री बनाउँदा ब्लेड नयाँ भएको र औजार संक्रमणमुक्त भएको सुनिश्चित गर्नुपर्छ ।
दाह्री
  • एक व्यक्तिको दाह्रीको औसत लम्बाइ वार्षिक रूपमा ५.५ इन्च हुन्छ ।
  • तपाईंले कहिल्यै काट्नुभएन भने दाह्री २७.५ फिटसम्म लामो हुन सक्छ ।
  • एक व्यक्तिको जीवनकालमा दाह्री काट्नमा औसत रूपमा करिब ६२ दिन बित्ने गर्छ ।
  • एक महिनामा रांै एक सेन्टिमिटरले बढ्छ ।
  • दाह्री रातिभन्दा दिनमा बढी छिटो बढ्ने गर्छ ।
  • दाह्रीले प्रदूषण र धूलोसम्बन्धी एलर्जीबाट जोगाउँछ ।
  • दाह्रीजुँगाले सूर्यबाट निस्किने ९५ प्रतिशतसम्म परावैजनी किरणबाट जोगाउँछ ।
  • दाह्री पाल्दा छाला सुक्खा हुन पाउँदैन ।
atulmishra7@gmail.com
श्रोत कान्तिपुर दैनिक

Continue Reading

पत्रपत्रिकाबाट

पहाड चढ्दै लामखुट्टे

Published

on

काठमाण्डाै,२९ भाद्र।  दक्षिणपूर्वी एसियाका चिसो पहाडी क्षेत्रमा समेत लामखुट्टेले आफ्नो उपस्थिति देखाउन थालेका छन् । लामखुट्टेमा वंशानुगत (जेनेटिक) परिवर्तन नभई ग्राह्य (एडप्टिभ) परिवर्तनले गर्दा यस्तो भएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालय, नेग्लेक्टेड ट्रपिकल डिजिज कन्ट्रोलका क्षेत्रीय सल्लाहकार डा.अहमद जमसिद मोहम्मदका अनुसार हाल नेपाल, भुटानका उच्च पहाडी क्षेत्रमा समेत डेंगु फैलाउने इडिस एजेप्टाई लामखुट्टे देखिन थालेका छन् । डब्लूएचओ दक्षिणपूर्व एसिया क्षेत्रीय समितिको ७० औं अधिवेशनमा उनले उक्त जानकारी दिएका हुन् । केही वर्षअघिसम्म समथर भूभागमा मात्र देखिने दिउँसो टोक्ने यो लामखुट्टे हाल उच्च पहाडी क्षेत्र ताक्दै छ । हाल पहाडी क्षेत्रमा समेत गर्मी बढ्दै गएको औंल्याउँदै डा. अहमदले लामखुट्टेको ‘पहाड यात्रा’ पछाडि ग्राह्य (एडप्टिभ) परिवर्तन कारक रहेको बताए ।

हाल किटजन्य रोगले विश्वभरि हुने अनुमानित संक्रामक रोगको १७ प्रतिशत स्थान ओगटेको छ भने यो कडा रूपमा सामाजिक, जनसांख्यिक र वातावरणीय कारकबाट प्रभावित हुन्छ । लामखुट्टेले हुने औलो, डेंगु, हात्तीपाइले, चिकनगुनिया, जिका भाइरस, यलो फिभर, जापानी इन्सेफलाइटिस, वेस्ट निल फिभर र भुसुनाले हुने कालाजार कीटजन्य रोगको श्रेणीमा पर्छन् । पछिल्ला दिनमा डेंगु, चिकनगुनिया, जिका भाइरसको संख्या बढ्दो छ ।

डेंगु नियन्त्रण चुनौतीका रूपमा देखिएको जनाउँदै डा. अहमद भन्छन्, ‘दक्षिणपूर्व एसियाका साथै विश्वभर नै डेंगु संक्रमण बढ्दो छ, यसबाट हुने मृत्यु पनि बढी रहेको छ ।’ विशेषज्ञका अनुसार यो लामखुट्टे आफ्नो विस्तारलाई सहरी क्षेत्रबाट अर्ध सहरी र ग्रामीण क्षेत्रतिर लिएर जाँदै छ । यो लामखुट्टेको फुल सुक्खामा समेत चार सय दिनसम्म बाँच्न सक्छ भने पानीको सम्पर्कमा आउनासाथ पुन: फुलबाट लामखुट्टे निस्किन सक्छ ।

वातावरणीय परिवर्तनका कारणसमेत लामखुट्टेको विस्तार भएको डा. अहमद बताउँछन् । डेंगु कडा रूपमा देखिए मात्र सबैले यसबारे कुरा गर्ने, तर प्रकोप सकिएर स्थिति सामान्य भएपछि कसैले यसबारे कुरा नगर्नु नै यस क्षेत्रको मूल समस्या रहेको विशेषज्ञले बताएका छन् ।

साभार अतुल मिश्र/कान्तिपुर

Continue Reading
Advertisement " />

प्रमुख समाचार