Connect with us

बिषेशज्ञ लेख

स्वास्थ्यमा लापरवाही, उपचारमा कमिसनको जालो: कत्तिको सत्य ?

Published

on

चैत्र-१५, काठमाण्डौ: पछिल्ला दिनहरुमा मुलधारका पत्र पत्रीकाहरुमा व्यापक रूपमा चिकित्सकिय आचरण र व्यवहारहरुका विषयमा समाचारहरु पढेपछी यो लेख लेख्न वाध्या भएर नै लेख्दै छु । हो समाचारमा आएका कतीपय विषयहरु यथार्थपरक छन तर पनि जती लेखहरु पढे तेती नै सबै केबल एक तर्फी विश्लेष्ण मात्रै हुन भन्ने आभास मिलेर नै अलिक फरक विश्लेष्ण जरुरी छ भन्ने मेरो बुझाइ छ । अझ आफु स्वयम यही क्षेत्रको व्यवसायी र नेत्तृत्वकर्ता दुबै भएका नाताले केहि गहन कुरा उठान गर्न सक्छु भन्ने लागेर नै यो लेख लेख्दै छु ।

हो स्वास्थ्य क्षेत्रमा व्यापक अनियमितताहरु देखिन थालेका छन । उपचारको क्रममा बिरामीलाई कमिसनको लोभमा चाहिने भन्दा बढी उपचार गरियो, नचाइने औषधिहरु लेखियो भन्ने आरोपहरु प्रशस्तै पढ्न पाइयो । यि आरोपहरु सबै अस्त्य हुन भन्ने पक्ष्यामा म कदपी छैन तर यि आरोपहरु लगाउद हामीले अर्को पक्षय पनि खोत्लन जरुरी छ । तर पत्रकार मित्रले अलिकती कम अध्ययन गर्नु भएको जस्तो भान भएर केहि कुरा प्रष्टाउन जरुरी लगेर यो प्रतिकृय लेख्दै छु ।

सर्वप्रथम त बढी उपचार गर्‍यो वा नचाहिने शल्यकृया गर्‍यो भन्ने आरोप लगाउदा लगाउदै के कुरा बुझ्न जरुरी छ भने एउटै रोगको पनि विभिन्न किसिमाका उपचार बिधी हुन सक्छन । कुनै चिकित्सकलाई एउटा उपचार विधी उपयुक्त लाग्छ भने त्यही रोगको अर्को उपचार बिधी अर्को चिकित्सकलाई उपयुक्त लाग्छ । यसो हुँदाको आवस्थामा को सही वा को गलत भन्ने हुन्न । बरु दुबै चिकित्सकले आफुले अपनाएको उपचारविधी सम्पुर्ण रूपम चिकित्सकिय आचारसन्हिता भित्र थियो कि थिएन भनेर केलाउन जरुरी छ । यदी चिकित्सकिय आचारसंहिता भित्रै गरिएको हो भने दुबै उपचारको मुल्य आकाश जमिन फरक पर्न सक्छ । यस्तो अवस्थामा बढी शुल्क लिएको उपचार विधिलाई लुट भन्नु सरासर नाजायज हो । तर यसो भनि रहदा रहदै पनि यो यथार्थलाई हामीले भुल्न मिल्दैन कि यदी पैसाकै लोभमा कुनै पनि अतिरिक्त उपचार गरिएको हो भने त्यो सदा सर्वदा कानुनत दन्डनिय अपराध हो । अब अर्को पाटो पनि विचार गरम अपराध हो भन्दा भन्दै पनि किन चिकित्सकहरू यस किसिमका गलत बाटो अङिकार गरीरहेका छन त ? प्रश्न बडो जटिल छ तर उत्तर उत्ती नै सहज छ। आज चिकित्सकहरुको यो अवस्थाको लागि जिम्मेवार यो समाज र सरकार नै हो ।

हाम्रो समाजले हामी आम चिकित्सकहरुलाई जहिले पनि चिकित्सा भनेको मानविय सेवा हो यसमा पैसा र आम्दानिको महत्तव हुन्न भनेर सिकयो तर हामी माझ असल भन्दा सफल चिकित्सकको उदाहरण पेश गरे, हामीलाई एउटा आदर्श सिकाइयो तर अर्को व्यवहारलाई प्रोत्साहित गरियो । सेवा भन्न लागाइयो तर चिकित्सक भनेको कमाउ पेशा हो भनेर पनि देखाइयो । हिजका दिनमा हाम्रो बजार क्षेत्र ठुलो तर सेवा प्रायदक भने औंलामा गन्न सकिने सन्ख्यामा थिए तर आज हाम्रो बजार क्षेत्रमा ठुलो विस्तार नभए पनि हाम्रो सेवा प्रदायको संख्या व्यापक रूपमा बढ्यो जस्ले गर्दा नयाँ चिकित्साको आम्दानी धेरै नै काम हुने अबस्था छ तर सामाजको अपेक्षा भने चिकित्सककै सबै भन्दा ठुलो घर र गाडी होस भन्ने छ । अब यो आम्दानी र अपेक्षा बिचको मतन्तरले नै आजको दिनमा चिकित्सा जगतलाई गलत दिशा तर्फ डोर्याइरहेको छ । अमेरिकी र युरोपेली रष्ट्रहरुको दुहाइ दिएर हामीलाई हाम्रो क्षमता र कार्यकुशलतामा प्रश्न गर्दा समग्र समाज र राष्ट्र्ले के बुझ्न जरुरी छ भने अमेरिकी उपचार नेपालमा पनि सम्भव छ र शर्त पनि एकदम सरल छ । अमेरिकि हिसाबमै दैनिक हेर्ने अधिक्तम बिरामी तोक्ने र समाजिक अपेक्षय पुरा गर्न सकिने किसिमको सेवा सुबिधा दिने ।

अब जेनेरिक औषधिको कुरा गरम । म स्वयम मेडिकल काउन्सिलको इथीकल समितिमा रहे पनि जेनेरिक नाम लेख्न हच्किने गरेको छु । अस्ती मात्रै पत्र पत्रीकामा बिरगंजमा रेहेका केहि औषधी कम्पनिका मालिक मिती गुजृयका दबाइका लेबल मिलाउदै समातिएका र कुनै कम्पनी मालिक त लागुऔषध कारोबारी भनेर फरार रहेको पढेको थिए । अब आफै विचार गरौ हाम्रो औषधी व्यवस्था विभागको नियमन गर्ने नियत र ल्याक्त। यस्तो विडम्ब्नापूर्ण आव्स्थमा कुनै चिकित्सकले आफ्नो आचारसन्हिता सम्झेर उपचार गर्ने कि आफुलाई भरपर्दो लाग्ने ब्रान्डको दबाइ आफ्ना बिरामीलाई लेख्ने ? यो बडो अस्मन्जस्पूर्ण अवस्था आजको हाम्रो चिकित्सकिय अभ्यासको यथार्थ हो। कुरा यतिकैमा सकिन्न, हाम्रा पत्रकार साथीले नेपालमा रहेका अन्य ऐन कानुन सायदै अध्यायन गर्नु भएको छ नत्र त हाम्रो राज्यले नै नेपाल स्वास्थ्य व्यवसायी परिषद खडा गरेर अन्य सबैलाई औषधी उपचारको हक दिएको छ। चिकित्सकले त लु कमिसन्को लोभमा ब्रन्ड फरक लेख्यो होला तर शिक्षा दिएर हैन कि ऐन बनाएर औषध उपचारको जिम्मा दिएर कती जानाको स्वास्थमा खेलवड भैरहेको छ ?  के हामीले हेक्क राखेका छौ त ? अर्को ब्रान्ड दिनु ठुलो अपराध हो कि आफ्नो क्षमता र शिक्षा भन्दा बढी काम गर्नु ठुलो अपराध हो ?

अब अर्को पाटो पनि केलाउ, सरकारी अस्पातलका डक्टरले बिरामी बहिर रिफर गरी कमिसन खाने कुरो । हो यो एउटा अकाट्य सत्य हो कि चिकित्सकहरुले आफ्नो निजी क्लिनिकमा बिरामी लगेर फाइदा लिइरहेकाछन तर यो सबैकुराको अर्को पाटो केलाउन जरुरी छ । हामी सबैलाई थाहा छ हाम्रो सरकारी सम्रचना भित्र भ्रस्टाचार व्याप्त छ र यही नै लागु हुने गरेको हो स्वास्थ्य क्षेत्रमा पनि । आजको दिनमा ३४,००० मासिक तलब दिएर काठमाडौमा जिविका गुजारा गर भन्नु आफैमा हस्यस्पद छ । यही नियम सुबिधाले नै अधिकाँश चिकित्सकलाई गलत मार्ग हिड्न वाध्य पारिरहेको छ । यसो भनिइ रहदा मैले फेरी बेथितिको समर्थन गरेको भनेर कदचित पनि नबुझियोस । मेडिकल काउन्सिल यस्ता गल्ती गर्ने आफ्ना हरेक सदस्यलाई कारबाही गर्न कहिले पनि काप्ने छैन । तर चिकित्सकलाई यो भ्रष्ट बनाउने माहोलको चर्चा गरिनु जरुरी छ । मेरा प्राय: सबै सरकारी चिकित्सक साथीहरुले आफुले गरेको रात्रीकालीन डियुटिको लेखा र हाकिमलाई कट्स छुट्टाउनु पर्छ नत्रभने काम गरेको भत्ता कानुनले रोक्छ  भनिन्छ । अझ प्रसुती गराउने चिकित्सकलाई सोध्नुस त वहाँहरुले रात दिन केहि नभनी गर्ने cesserian section को पैसा क-कस्लाई मात्र बड्नु पर्दैन भनेर ? सिङो राज्य सम्यन्त्र नै चिकित्सकको मेहेनाताको कमाइ समेतमा लुट मचिदा चुप बस्छ भने त्यो चिकित्सका कसरी देश र समाज प्रती पूर्ण रुपमा इमान्दार हुन सक्ला ?

अनी हामीले बुझ्न जरुरी कुरा के हो भने चिकित्सकिय विषयमा आजसम्म जती पनि समाचार सम्प्रेषण हुन्छन त्यसमा बिरलै सम्बन्धित विषय बिज्ञसँग कुनै पनि राय सल्लाह गरिएको हुन्छ र हाम्रो समग्र समाज त्यही हौवाको पछी दौडिन छ। आज चिकित्सक र सामज बिचको दुरी बढ्नुमा चिकत्सकिय अभ्यासमा आइरहेको ह्रास भन्दा बढी मिडियाको प्रचारबाजी जिम्मेवार छ । आज लेख्दै जादा अतुल मिश्र  सरले केबल घुस खाने चिकित्सक मात्र देख्नु भएछ तर त्यही चिकित्सकले पैसा छैन भनेर हात फैलाउने बिरामिको सित्तैमा उपचार गरेको, कुनै पनि दृष्टन्त नदेख्नुले नै यो कुरा प्रमाणित गर्दिन्छ कि आज आम सन्चार जगत चिकित्सक र समाज बिचको द्वन्द बढाउने खेलामा मात्र लागि रहेको छ। म स्वयम इथीकल समितिमा रहेको हुँदा अतुलजीलाई खुल्ला रुपमै भन्ने चाहन्छु कुनै पनि चिकित्सकिय आचारसन्हिता उल्लङ्घनको प्रमाण छन् भने मिडिया बाजी नगर्नुस हामीलाई प्रमाण ल्याएर दिनुहोस हामी हाम्रो ऐनले गर्ने अधिक्तम कारवाही गर्ने छौ हाम्रो सदस्यलाई।

डा. कालु सिंह खत्री

सदस्य, नेपाल मेडिकल काउन्सिल

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बिषेशज्ञ लेख

यसरि गर्न सकिन्छ विदेशबाट आउनेहरुको स्वास्थ्य परिक्षण व्यावस्थापन

Published

on

जेठ २६ काठमाडौं,  प्रकाश परियार र सदिप रमण पुरी ।  विगत करिब ६ महिना देखि  सम्पुर्ण विश्व जगत कोभिड-१९ को संक्रमणको चपेटोले थलिएको छ। विश्वभरका अधिकांश मानिसहरु आफ्ना दैनिक क्रियाकलापहरुलाई टक्क रोकेर घर भित्र बस्न बाध्य भएका छन। विश्व बजारीकरणका कारण मानिसहरुको आवतजावत बढिरहेको समयमा आफ्नै गतिमा चलिरहेको घडीको सुई रोकिए जसरि सारा विश्व रोकिएको भान भैरहेको छ। विश्व बजारीकरणका कारण नेपालका नागरिकहरु नपुगेका विश्वका सायदै देशहरु होलान । विश्व भर फैलिएको कोरोना संक्रमणको महामारीको कारण विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किने पर्खाइमा आतुर भएर बसिरहेका छन । विदेशी भुमीमा रोजगार,व्यापार तथा अध्ययनको शिलशिलामा  जो जे का लागि गएको भए पनि मातृभुमी फर्किने आशामा छन। कतिको रोजगार गुमेको परिवेश छ भने कतिको अध्ययन सकिएको र कतिको करार सेवा अवधि सकिएको अवस्था छ । पछिल्लो डेढ दशकमा खाडी मुलुकमा रोजगारीको लागि जाने नेपालीहरु लाखौंको संख्यामा छन। खाडी मुलुकमा रोजगारीको लागि गएकाहरु आफू कार्यरत रोजगार दाता कम्पनीहरुले खाना र बस्न समेत दिन नसकी नेपालीहरुको विचल्ली हुन थालेका समाचारहरु छिटफुट अखबारमा आउन नथालेका पनि हैनन तथापी सिङ्गो विश्व नै प्रभावित बनेकोले आफ्नो र पराई नभनी मानवियताको आधारमा थोरै भए पनि सहयोग गरिरहेका छन तर विडम्बना मानवीय रुपमा सदासयता कहिले सम्म भनेर कसैले भन्न सक्ने स्थिति भने छैन ।

  गैह्रआवसिय नेपाली संघ (NRNA)को तथ्यांक अनुसार गत सोमबार सम्म विश्व भर छरिएर रहेका नेपालीहरु मध्य १४ हजार ४ सय २५ जना कोरोना संक्रमित भएका छन भने १ सय २१ जनाले विदेशी भुमिमा ज्यान गुमाएका छन । यतिबेला आफ्नो रोजीरोटीका लागि गएका हुन या व्यापर प्रयोजनका लागि अथवा विदेशी भुमिमा त्यहीँको नागरिकको हैसियत बनाउन सफल नै किन नहुन स्वदेशी भुमी, आफू जन्मिएको माटो मातृभुमीमा फर्केर आउन आतुर छन। जब विषम परिस्थितिको सृजना हुन्छ तब आफू जन्मिएको भुमी प्रतिको माया, आफन्त प्रतिको सद्भाव र सदासयता बढेर जान्छ जुन मानवीय दृष्टिकोणले स्वभाविक पनि हो । यतिबेला नेपाल सरकार विदेशी भुमीमा रहेका नेपालहरुलाई स्वदेश फिर्ता ल्याउने तयारीमा छ । सानो अर्थतन्त्र, अल्प विकसित जे भए पनि विपदको समयमा आफ्ना नागरिकको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो । यसै कथनलाई हृदयंगम गर्दै देश बाहिर रहेका नेपाली मनहरुलाई देश भित्र फिर्ता ल्याउने कुरा सरकारको कोभिड-१९ संक्रमण ,रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिलाई प्रतुत प्रतिवेदन अनुसार करिब १० लाख नागरिक हवाई मार्गबाट नेपाल भित्रिने अनुमान गरिएको छ भने देशको खुल्ला सिमाना जोडिएको भारतबाट तत्काल करिब ३ लाख ५० हजार जना भित्रिने आंकलन गरिएको छ ।

 

यसरी १३ लाख भन्दा बढी मानिसहरु एकैपटक स्वदेश फर्किदाँ तिनीहरुको रोजगारी लगायतको व्यवस्थापनमा राज्यलाई ठूलो भार पर्ने त छँदैछ त्यो भन्दा महत्त्वपूर्ण कुरा त्यतिका संख्यामा एकसाथ देश फर्किदा उनिहरु संगै संक्रमण फैलिने जोखिम पनि त्यतिकै रहन्छ । सरकारको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले भारतबाट नेपाल फर्किने मध्य करिब १५% नागरिक संक्रमित हुन सक्ने अनुमान गरेको छ र यसरी फर्किने नेपालीहरु संगै संक्रमण पनि भित्रिन सक्ने परिस्थितिको व्यवस्थापन राज्य र सरकारको लागि सबैभन्दा चुनौतीपूर्ण छ । चुनौतीपूर्ण छ भन्दैमा राज्य त्यसबाट विचलित हुन र पर भाग्न मिल्ने न परिस्थिति छ न संभावना नै अत : राज्य र तिनै तहका सरकार सङ्गै हरेक नागरिक पुर्ण जिम्मेवार र संवेदनशील भएर परिस्थितिको सामना गर्नुको विकल्प पनि छैन । यसरी एकैपटक १३ लाख बढी मानिसहरुको कोरोना परिक्षण गर्नु आवश्यकता संगै व्यवस्थापकीय हिसाबले गार्‍हो र दुरुह पनि त्यतिकै छ।

एकसाथ यतिका नागरिकको परीक्षण गर्न सजिलो र सहज त छैन तथापि राज्यले नसक्ने भने होइन त्यसको लागि राज्यका सबै संयन्त्र जिम्मेवार ढंगले प्रस्तुत हुन र सबैभन्दा महत्त्वपूर्ण कुरा परिक्षणको दायरालाई फराकिलो बनाउन जरुरी छ। यहाँ एउटा मोडल प्रस्तुत गरिएको छ,झट्ट हेर्दा केही खर्चिलो भए पनि त्यसको विकल्प न नागरिक सङ्ग छ न सरकार र राज्यसंग नै । सरकारले कुल जनसंख्याको २% को कोरोना परिक्षण गर्ने लक्ष्य राखेको छ। २% मात्रको कोरोना परिक्षण गर्दा लगभग ६ लाख जनाको जाँच गर्नुपर्ने हुन्छ । अहिलेकै अवस्थामा ६ लाख जनाको जाँच गर्न करिब १२० अर्थात ४ महिना लाग्ने देखिन्छ त्यसैले परिक्षणको दायरालाई व्यापक बनाउनुको विकल्प छैन। परिक्षणको दायरालाई व्यापक र सुलभ बनाउनको लागि जनशक्तिको समुचित प्रयोगको साथै स्वचालित RT PCR मेसिन जडानको अति आवश्यक देखिन्छ साथै RT PCR जाँचलाई व्यापक र आर्थिक मितव्ययिताको लागि हाल भई रहेको RT PCR परिक्षणको तरिका/ पद्धतिमा पनि केहि परिवर्तन गर्नु आवश्यक छ ।जसमा हाल प्रयोग हुँदै आएको एक नमुना एक जाँचको पद्धतिलाई परिमार्जन गरि टेष्टको रिपोर्ट पोजिटिभ नआउँदा सम्म कम्तीमा ५ नमुना ,एक जाँचको नीतिलाई अबलम्बन गर्न सकिन्छ यसरि यो निति अवलम्बन गर्दा परिक्षणको दायरा कम्तीमा दोब्बर हुनुको साथै आर्थिक रुपमा पनि केही राहत मिल्न सक्छ । प्रत्येक प्रदेशमा कम्तिमा ५ हजार टेष्ट क्षमताको अत्याधुनिक स्वचालित मेसिन जडान गर्न जरुरी छ । यो कार्य गर्न केही कठिन र चुनौती पनि छ तर यसको विकल्प भने छैन । परिक्षणको दायरा बढाउनको लागि जनशक्ति व्यवस्थापन संगै हाल नेपालमा भैरहेको खर्चिलो परिक्षणको पद्धतिलाई सुधार गर्न जरुरी छ । जर्नल अफ क्लिनिकल माईक्रोबायोलोजी (अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजी) मा प्रकाशित       अनुसन्धन अनुसार हाल नेपालमा प्रयोग भैरहेको VTM (Viral Transport Media) र RNA extraction kit सहितको RT PCR टेष्ट गर्ने पद्धतिलाई केही सुधार र थप अध्ययन  गरि (0.9%) Phosphate Buffered saline (PBS) बाट RT PCR टेष्ट गर्ने पद्धतिको विकास गर्नु आवश्यक छ। जसले अहिलेको खर्चिलो RT PCR test पद्धतिलाई कम खर्चिलो बनाउनुको साथै सजिलो र छिटो छरितो समेत बनाउन मद्दत पुग्दछ ।

स्वास्थ्य परिक्षण व्यावस्थापन मोडल 

 

 

यहाँ प्रस्तुत गरिएको मोडल अनुसार RDT टेस्टलाई विश्वव्यापी रुपमा त्यति भरपर्दो नमानियता पनि यसले स्वास्थ व्यक्तिहरूको Screening गर्न सहयोग गर्ने हुँदा र हवाई मार्ग होस वा स्थलमार्गका प्रवेश विन्दुमा नै RT PCR टेस्ट गर्न प्राविधिक रुपमा सम्भव नहुने भएकोले RDT test नेपाल प्रवेश गर्ने बिन्दुमा नै सबै नागरिकको गर्नुपर्ने देखिन्छ । यसरी RDT टेष्ट गर्दा संक्रमित भए नभएको सुरुमा नै थाहा पाउन सहयोग गर्ने हुँदा क्वारेन्टाइन स्थलमा संक्रमण फैलिन सक्ने स्थितिमा समेत कमि आई क्वारेन्टाइन स्थलको व्यवस्थापनमा सहयोग पुग्दछ। प्रवेश गर्ने स्थानमा नै RDT टेस्ट  गरि त्यस अनुसार रिपोर्ट पोजिटिभ र नेगेटिभमा छिट्याउँदा पोजिटिभ हुने जति सबैलाई नजिकको आइसोलेसन स्थलमा  स्थानान्तरण गर्ने र नेगेटिभ हुनेहरुलाई सम्बन्धित स्थायी ठेगाना अनुसार स्थानीय तह संग समन्वय गरि यातायातको उचित प्रबन्ध सहित स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइनमा पठाउनु पर्दछ। त्यस पश्चात  जति सक्यो छिटो RT PCR जाँच गर्नु पर्दछ र RT PCRको रिजल्ट अनुसार पोजेटिभ रिजल्ट आउनेहरुलाई लक्षणको गम्भीरताको आधारमा मध्यम लक्षण र सिकस्त लक्षण भएका संक्रमितहरुलाई अस्पतालको आइसोलेसनमा राख्ने र लक्षण नदेखिएका, हल्का लक्षण भएका संक्रमितहरुलाई  सम्बन्धित पालिकाको आइसोलेसनमा राख्ने व्यवस्था गर्नु पर्दछ र नेगेटिभ रिजल्ट आउनेहरुलाई १४ देखि २१ दिन होम क्वारेन्टाइनमा बस्न सल्लाह दिनु पर्दछ ।

राज्यलाई ठुलो संख्यामा विदेशीएका नागरिकलाई क्वारेन्टाइन र आइसोलेसन व्यावस्थापन गर्न कठिन हुने हुदा आफ्नो खर्च आफै वहन गर्न सक्नेहरुलाई होटलमा क्वारेन्टाइन र आइसोलेसन व्यावस्था गरि राख्ने व्यावस्था गर्ने कुरा पनि राम्रो विकल्प हुन सक्दछ तर आफ्नो खर्च वहन गर्न नसक्नहरुलाई राज्यले जिम्मा लिनु पर्दछ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयको स्रोत अनुसार हाल नेपालमा जम्मा २६,९३० अस्पताल शैय्या रहेको छ भने १५९५ सघन उपचार शैय्या (ICU), ८४० भेन्टिलेटर , १९४ आईसियु (ICU) भएका अस्पताल, १११ कोभिड क्लिनिक भएका अस्पताल र ३०७६ आईसोलेसन शैय्या रहेको उल्लेख छ (यो लेख तयार पार्ने बेला सम्म) जुन अत्यन्तै न्यून हो । यो अवस्थामा यदि हाम्रो देशमा स्थिति भयावह भयो र संक्रमितहरुमा अन्य देशमा जस्तो सघन खालका लक्षण र चिन्ह देखिने अवस्था भयो भने अस्पताल बाहिर पालो कुरेर मृत्युलाई पर्खनुको विकल्प नहुन सक्छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ लाई छोटो अवधिमा नियन्त्रण गर्न सफल भएका देशहरुले अवलम्बन गरेको पद्धति वा अपनाएको विधिलाई हेर्ने हो भने मुलत परिक्षण गरि पहिचान गर्ने र आइसोलेसन गर्ने  तथा  आवगमन रोक्ने नै हो । त्यसैले हाम्रो देशमा पनि परिक्षणको दायरालाई बढाउने, सम्पर्क पहिचान (Contact Tracing) लाई व्यवस्थित र व्यापक बनाउने ,संक्रमितलाई आइसोलेसन गर्ने र एक ठाउँबाट अर्को ठाउँमा आवगमनमा रोक लगाउने कार्यलाई अवलम्बन गर्नु अपरिहार्य छ।

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४८ को उपदफा ४ मा जनस्वास्थ्य विपद अवस्था घोषणा गर्न सक्ने तथा सरुवा रोग सम्बन्धि ऐन २०२० अनुसार नेपाल सरकार यतिबेला देशमा जनस्वास्थ्य संकटकाल घोषणा गर्ने मनसायमा देखिन्छ । यस्तो परिस्थितिमा विदेशबाट फर्किनेहरुको उचित व्यवस्थापन गर्न नसकेको परिवेसमा कोभिड-१९ को संक्रमण समुदाय स्तरसम्म फैलिन गई परिस्थिति नियन्त्रण भन्दा बाहिर नजाला भन्न सकिन्न । अहिले सम्मको अवस्थालाई नियाल्दा नेपालमा कोभिड-१९ भयावह स्थितिमा नरहेकोले तत्काल जाँचको दायरालाई बढाएर विदेशबाट आउने सम्पुर्णको परिक्षण गर्दा समुदायस्तर सम्म कोरोनाको संक्रमण रोक्न सकिन्छ । अन्त्यमा माथी प्रस्तुत गरिएको मोडल अनुसार विदेशबाट फर्किने नागरिकहरुको RDT देखि RT PCR सम्मको जाँच गरि आईसोलेसन र क्वारेन्टाइनको व्यवस्थापन प्रभावकारी गराउँदा अस्पतालमा बिरामीहरुको लागि खर्च हुने आइ. सि. यु/ भेन्टिलेटर  लगायतका औषधी जन्य खर्चमा व्यापक कटौती हुन गई रोग समुदाय स्तरसम्म फैलिनबाट रोकिने र राष्ट्रले छोटो समयमा नै कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्ने कुरामा निश्चिन्त हुन सकिन्छ ।

Continue Reading

बिषेशज्ञ लेख

रोगको कारण नबनोस “चाडपर्व” यसरी बच्न सकिन्छ फुडपोइजनबाट

Published

on

डा. लालित कुमार मिश्र, काठमाडौं। दशै-तिहार हामि नेपालीहरुको महान चाँड हो । आफ्नो परम्परागतरुपमा सबैले आ-आफ्नो गच्छेनुसार चाडँपर्व बडोहर्षोउल्लासका साथ मनाउने गर्दछन् । खुशीको पर्व दशैं मिठोमसिनो स्वादिलो मासुका परिकार खाएर, घरमा आउने पाहुनाहरुलाई ख्वाएर मनाईन्छ। अधिकांश नेपालीलाई खानपिन गर्न, रमाईलो गर्नका साथै साथीभाई र आफन्तलाई भेटन भ्याइ-नभ्याइ हुन्छ । यसैगरी केटा-केटीहरुलाई नयाँ लुगा लगाउन, पिङ खेल्न, चँगा उडाउन मज्जा लाग्छ ।

यस चाँडपर्वमा आ-आफ्नो रितिरिवाज अनुसार खाद्यपदार्थ भोजनमा समावेश गरेतापनि विशेषत; माछा, मासु तथा मासुका बिभिन्न परिकारलाई बढि प्राथमिकता दिइन्छ । दशैँमा मासु खाईन भने दशैँ नै आएको जस्तो लाग्दैन । नेपाली समाजमा धेरैजसो मनाईने चाडँपर्वहरु बिशेषप्रकारका खाना-खाने र ख्वाउनेसँग परम्परा जोडिएका हुन्छन् । दशैँको बेलामा बोका, खसी, राँगो, भैशी, कुखुरा, हाँस, परेवा, खरायो, मृग, भेडा, च्याङग्रा आिदको मासु खाने प्रचलन छ ।

कतिपय ठाउँमा त मासु-भात, मासु-चिउरा खानकै लागि दशैँ आउनभन्दा ३/४ महिना अगाडी नै खसी, बोका, सुँगुर, बँगुर आदि पालेर राखेको हुन्छ । मिठो र स्वादिलो खानेकुराले दशैँलाइ रमाईलो त बनाउँछ । तर खानपानको संतुलन र सरसफाइमा बिशेष ध्यान दिन सकिएन भने बिरामि (अस्वस्थ्य) बनाउने तथा दिर्घरोगि ( ब्लडप्रेशर, डायबिटिज, दम, युरिकएसिड) भएका ब्याक्तिहरुलाई सिकिस्त बनाउने समय पनि चाडपर्व नै बन्न जान्छ । चाडपर्वको लागि भनेर ल्याईएका माछा, मासु, मिठाई, मिल्क प्रोडक्स तथा घरमा बिभिन्न खानेकुराहरुको परिकार बनाएर लामो समयसम्म राख्ने । पाहुनालागयत आफुहरुलेसमेत खाने तथा आफन्त कहाँ जाँदा कोशेलीको रुपमा मिठाई, फलफुलहरु लाने गरिन्छ । यसैगरी दशैँ मान्न आएका पाहुनाहरुलाई केहीदिन देखि सञ्चित गरी राखेका माछा, मासु एवं अन्य परिकारहरु खुवाएर स्वागत गर्ने गरिन्छ । खानेकुराहरुलाई उचित तापक्रममा व्यवस्थित ढंगले नराखिने हुँदा माछा, मासु तथा दुग्धजन्य पदार्थ मिठाईहरुमा चाँडै ब्याक्टेरियाहरु उत्पन्न हुन्छन् । यस्ता खाना खानाले फुडपोइजन हुने गर्दछ । यसैप्रकार स्वच्छ खानेपानी र भान्छा कोठाको सरसफाइको कमीको कारण पनि खानेकुरा संक्रमित भई मानिस बिभन्न रोगका शिकार बन्ने गरेका छन् । यसकाे शिकार हुनेमा बुढा-पाका, केटाकेटीहरु तथा दिर्घरोगीहरु पर्दछन्, जस्तै- उच्च रक्तचाप, मधुमेह, यरिकएसीडका बिरामी । यसले गर्दा चाँडपर्वका बेला धेरै मानिस बिरामी भएर अस्पताल, स्वास्थ्य चौकी वा प्राईवेट क्लिनिकमा पुग्छन् । त्यसमध्ये कतिपयको त उपचार नपाएर वा उपचारको क्रममा मृत्यु पनि हुने गरेको छ

#फुडपोईजनको कारण ;- दुषित, बासी र राम्रोसँग नपाकेको काँचो खानामा पाइने- ब्याक्टेरिया- ई-कोलाइ, स्टेफाइलोकोकस जस्ता जिवाणु युक्त खाने कुराखानाले फुडपोइजन हुने गर्दछ । यसका साथै फोहोर भन्छा कोठा, फोहोर भाँडाकुडाहरुमा बनाइएका खानाहरु पनि फुडपोईजनका कारण बन्न सक्छन् । त्यसैगरी खाना बनाउने कुक (भान्छे) को ब्याक्तिगत सरसफाइमा पनि यस्ता कुराहरु भरपर्दछ ।

# फुडपोइजनका लक्षणहरु ;- ब्याक्टेरिया- खानेकुरा- पिउनेपानी को माध्यमले शरीरमा प्रवेशगरेपछि केहिसमय मै (जिवाणु) अनुसार ढिलो या चाँडै बिभिन्न किसिमले शरिरले प्रतिक्रिया देखाउने गर्दछ । बेक्टेरिया अनुसारको जस्तै- भिव्रियोकोलेरा ( हैजा) को जिबाणुले चौलानी जस्तो पातलो दिशा जाने साथै बान्ता हुने । यसैप्रकार सिगेला (जिबाणु) ले दिशाबाट रगत जाने , अम्बिवाले चिप्लो दिशा(आउँ) जाने जस्ता समस्याहरु देखाउने गर्दछ । भने बान्ता हुने, झाडापखाला लाग्ने, उधो-उभो (मुखपेट) एकैचोटी चल्ने, रिगँटा लाग्ने, दिशामा रगत आउँ देखापर्ने, ज्वरो आईरहने, पेटमा ऐठन हुने, मुटुको धडकन अस्वाभिकरुपले बढने, शरिर झम झमाउने, औठ-मुख सुक्ने आदि जस्ता लक्षणहरु देखापर्ने गर्दछन ।

# बच्ने उपाय ;- दैनिक खाने खानाको सुरक्षा र सरसफाईलाई ध्यान दिन सकेमा फुडपोईजनबाट पुर्णरुपमा बच्न र बचाउन सकिन्छ । काँचो माछा, मासु, राम्ररी न पाकेको खाने कुरा पकाएर फ्रिजबाहिर लामोसमयसम्म राख्ने गरिएका खाने कुरा को सेवनले फुडफोईजन हुने गर्दछ । सबै ठाउँमा फ्रिज, डि-फ्रिज हुँदैन, उचित तापक्रम मिलाएर राख्ने सुबिधा न हुने भएकाले त्यस्ता खाने कुराले – झाडा-बान्ता, गेष्टाईटिसका साथै पाचनप्रणालीमा विभिन्न समस्याहरु देखापर्ने गर्दछन् । त्यसकारण चाडबाडको लागि भनेर ल्याएका खाने कुराहरुलाई पकाएर सकेसम्म लामोसमय बाहिर न राख्ने । यदि राख्नुपर्ने भएमा फ्रिज वा डि-फ्रिजमा राख्नु पर्छ । सरसफाईमा ध्यान दिने होभने दुषित खानाबाट हुने फुडपोईजनबाट बच्न सकिन्छ । अस्तु ।

mishradr.lk@gmail.com
साभार कान्तिपुर दैनिक

Continue Reading

बिषेशज्ञ लेख

‘बलात्कारी मानसिकता’ कस्तो व्यक्तिमा हुन्छ ?

Published

on

गोपाल ढकाल। पछिल्लो समय बलत्कारका घटना वाहिर आइरहेका छन् । धेरैलाई थाहा नहुन सक्छ, बलत्कारको मानसिक कारण पनि हुन्छन् । यस्ता विभिन्न मानसिक रोगी हुन्छन्, जसको दिमागमै बलत्कार हुन्छ ।

कसमा हुन्छ ?

बलत्कारमा मानसिक, स्वास्थ्य, यौन गडबडीलगायतले भूमिका खेलिरहेको हुन्छ ।

मानसिक समस्या एका मानिसमा यौनको लत हुन्छ । उनीहरुमा उत्कट यौन चाहना हुन्छ । त्यस्ता मानिसहरु कहिल्यै पनि सन्तुष्ट हुदैनन् । उनीहरुको दिमागले जहिल्यै यौनको विषयमात्र सोचिरहेको हुन्छ ।

यस्ता खालका मानिसले बलत्कार पनि गर्न सक्छन् । ठूलालाई नसकेपछि बच्चाहरुलाई पनि बलत्कार गरेर यौन प्यास मेटाउन सक्छन् । यस्तो चाहना या लत केटा-केटी दुवैमा हुन्छ । हामीले बेलाबेलामा बालबालिकालााई बलत्कार गरेका घटना पनि सुनिरहेका हुन्छौँ । यसमा पनि मानसिक कारणले पनि भूमिका खेलेको हुन सक्छ ।

मेनिया

मेनिया एक प्रकारको मानसिक रोग हो । यस्ता मानिसमा जुनसकै कुराको अधिक चाहना हुन्छ । यस्ता मानिसहरु आवेग र उत्तेजनामा आउने गर्छन् ।

यस्ता मानिसहरु अत्यन्तै चम्काउला, सेक्स चाहना व्यक्त गर्नेखालका हुन्छन् । डिप्रेशनमा गएका मानिसमा यौन चाहना कम हुन्छ भने मेनियाले ग्रस्त मानिसमा अत्याधिक हुने गर्छ । यस्ता मानिस बलत्कार गर्न पनि पछि पर्दैनन् ।

पिडोफेलिया

पीडोफेलिया अर्को मानसिक समस्या हो । यस्ता मानसिक समस्या भएका मानिसले यौन प्यास मेटाउनका लागि वालवालिकालाई प्रयोग गर्छन् । यस्ता मानिसले बालबालिकालाई यौन दुव्र्यवहार गर्ने, बालबालिकासँग बढी नजिक हुने जस्ता व्यवहार देखाउँछन् । यस्ता मानिसले बालबालिकालाई बलत्कार गर्ने अत्याधिक सम्भावना हुन्छ ।

साइको सेक्सुअल डिसअर्डर

साइको सेक्सुअल डिसअर्डरमा धेरै रोगहरु पर्छन । त्यसमध्येको एउटा रोग यस्तो हुन्छ जसले घर्षण गरेर यौन प्यास मेटाउने गर्छन् ।

यस्ता मानिसले बढी यौन दुव्र्यवहार गर्छन् । यस्ता मानिसले आफ्नो यौनागं देखाउने, बाटोमा पनि घर्षण गर्ने, घर्षणको लागि विपरित लिंगीलाई प्रयोग गर्ने जस्ता हतकण्डा अपनाउँछन् । यस्तो प्रकारको मानसिक समस्या भएका मानिसले बलत्कार गर्न पनि सक्छन् ।

डिमेन्सीया

डिमेन्सीयाको समस्या प्रौढलाई हुने गर्छ । यस्ता मसस्या भएका मानिसको मस्तिस्कले गरिरहेको काम ठिक वा वेठिक भन्ने छुट्याउन सक्दैन  ।

यस्तो समस्या भएका प्रौढले बालबालिकासँग शारिरिक सम्पर्क राख्न खोज्छन् । कहिलेकाँही आफ्नै नातीनातिनासँग यौन सम्पर्क गरेका कुरा सुनिरहेका हुन्छौँ । यस्तो घटनामा डिमेन्सीयाले पनि काम गरेको हुन सक्छ । यस्ता मानिसले आफ्नै घरका बच्चाहरुलाई यौनाअंग चलाउन भन्ने, यौन दुव्र्यवहार गर्ने जस्ता तुच्छ गतिविधिसमेत गर्छन् ।

जाड रक्सी

कति मानिसमा जाड रक्सीको लत हुन्छ । यसमा पनि  माानशकि समस्याले भूमिका खेलेको हुन्छ । कुलतमा फँसेका मानिसको सोच्ने क्षमता कमजोर भएर जान्छ । यस्ता मानिसले नशाको आवेगमा बलत्कार गर्न पनि सक्छन् । त्यसैले यस्ता मानिससँग जोगिन आवश्यक हुन्छ  ।

अन्य केही

– कतिपय मनिसले अरुलाई दुख दिएर, पिटेर जवरजस्ती गरेर यौन प्यास मेटाउने गर्छन् । यो अर्को मानसिक समस्या हो । यस्तो समस्या भएका मानिसले प्राय जवरजस्ती यौन सम्बन्ध राख्न खोज्छन् । यस्ता मानिसले बलत्कार गर्ने अत्याधिक सम्भावना हुन्छ ।

– कतिपय मानिसहरुले यौन सम्पर्क गर्दैनन्, तर हेरेर आनन्द लिने गर्छन् । यस्ता मानिसले पनि यौन दूर्व्यवहार गर्छन् । कतिपय अवस्थामा बलत्कार नै गर्न सक्छन् ।

यौन सम्पर्कको लागि अप्राकृतिक सम्बन्धको साहारा लिने मानिसहरु पनि हुन्छन् । यो पनि एउटा मानसिक समस्या हो । यस्ता मानिसहरु जनावरसँग यौन सम्पर्क राख्ने, बालबालिकालाई प्रयोग गर्ने, यौनअंगभन्दा अरु ठाउँमा सम्पर्क गर्न खोज्ने जस्ता गतिविधि गर्छन् । यस्ता मानिसले मानसिकता नै अपराधि हुन्छ । यौन मात्र नभएर अरु पनि अपराध गर्छन् ।

के उपचार सम्भव छ ?

यस्ता रोग जन्मजात  भएर पछि लाग्ने गर्छ । त्यसैले यी सबै रोगको उपचार सम्भव छ । कतिपय समस्याका उपचार अलि जटिल पनि हुन्छ । एक दुई वटा मात्र जन्मजात समस्या हुन्छन् । जसको उपचार निकै जटिल हुन्छ । तर, उपचार नै हुँदैन भन्ने चाही  होइन । यस्ता रोगको उपचार नेपालमा पनि सम्भव छ ।

कसरी बच्ने ?

यस्तो समस्याबारे परिवारको आफ्नै सदस्यबारे पनि सचेत  हुन जरुरी हुन्छ । कसैसँग व्यवहार गर्दा र सडकमा हिड्दा पनि ख्याल गर्नुपर्ने हुन्छ । मानिसले गर्ने गतिविधि सामान्य हो वा दुव्र्यवहार हो भनी बुझेर मात्र प्रतिक्रिया जनाउनुपर्छ । यस्ता  मानसिक समस्या भएका मानिस नेपालमा मात्र नभएर संसारभर नै हुने गर्छन् । त्यसैले सबैभन्दा पहिले आफु नै सुरक्षित रहनुपर्छ ।

लेखक ढकाल  मनोसेवा केन्द्र   का साइकोलोजीष्ट हुन्

साभार अनलाइन खबर

Continue Reading
Advertisement " />

प्रमुख समाचार