काठमाण्डौ, २४ पाैष– चिकित्सा शिक्षामा सुधारका बिभिन्न माग राख्दै १३ पटकसम्म लगातार आमरण अनसन बस्दै अाएका प्रा. डा. गोविन्द केसी फेरि अनसन बसेका छन्। यसपटक डा केसीको अनसन प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध लक्षित रहेको छ।
सरकारले बर्खास्त गरेका आइओएमका डीन डा. शशी शर्मालाई सर्वोच्च अदालतले आइतबार पुनर्वहालीको आदेश दिएपछि सो आदेशको विरोध र प्रधानन्यायाधीस गोपाल पराजुलीको राजिनामासहित पाँच बुँदे माग राख्दै प्राडा केसी अनसनमा बसेका हुन् ।
न्यायालयमा न्याय किनबेच भएको आरोप लगाउँदै डा केसीले प्रधानन्यायाधीश पराजुलीले राजीनामा गरी उनले गरेका कामहरुबारे छानबिन गर्नुपर्ने मुख्य माग गरेका छन्।
डा केसीका मागहरु:
१) पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधान न्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस्। तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानबिन र कारबाही गरियोस्।
२) चिकित्सा शिक्षा आयोग तत्काल गठन गरियोस्।
३) आइओएमका डीनमा विधिवत रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गरियोस्। माफिया डीनको पुनर्वहाली तुरुन्त खारेज गरियोस्।
४) मेडिकल माफियासितको मिलेमतोमा अवैध रुपमा खाली भवनलाई सम्बन्धन दिने, आइओएमको अधिकार नाजायज रुपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागबन्डाबाट नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरियोस्।
५) त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी हामीले राखेका मागहरु पूरा गरियोस्।
क) सरकारी संस्था भएकाले त्रिवि शिक्षण अस्पतालको शैक्षिक कार्यक्रम र सेवा प्रवाहको सम्पूर्ण आर्थिक भार राज्यले व्यहोर्ने व्यवस्था गर्ने। हाल १० प्रतिशत मात्र शय्याहरु निःशुल्क भएकोमा त्यसलाई बढाएर ५० प्रतिशत पुर्याइनुपर्ने। आम नागरिकहरुका लागि उपचार सस्तो र सुलभ बनाउने तथा अस्पतालका विद्यार्थी, चिकित्सक र कर्मचारीलाई विगतमा जस्तै सम्पूर्ण उपचारको व्यवस्था गर्ने।
ख) कार्यरत नर्स तथा विद्यार्थीहरुका लागि नयाँ आवास तथा छात्रवासको व्यवस्था गर्ने, अडिटोरियम हल र परीक्षाहलसहित उपयुक्त क्षमताका क्याम्पस भवनहरुको निर्माण गर्ने। पुस्तकालय वर्षभर चौबिसै घन्टा र सातै दिन खुला राख्ने व्यवस्था गर्ने।
ग) अस्पतालको औषधि पसल विस्तार र सही व्यवस्थापन गरेर अस्पतालमा आएका सबै बिरामीलाई सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउने व्यवस्था गर्ने।
घ) इमर्जेन्सी विभागमा आउने सबै बिरामीका लागि सुविधाजनक उपचारकालागिसेवा बिस्तार तथा वृद्धि गर्ने, बिरामी दलालहरु तथा तिनलाई प्रयोग गर्ने निजी अस्पतालहरुलाई कारबाही गर्ने। आइसियू, एनआइसियू, अपरेसन थिएटर लगायतका संरचना र क्षमता बिस्तार गरेर अधिकतम बिरामीलाई सेवादिने र अपरेशनको ‘क्यू’ घटाउने। साथै संविधानमा लेखिए बमोजिम सबै खालको इमर्जेन्सी सेवा पूर्णरुपमा निःशुल्क गर्ने।
ङ) चिकित्सक, नर्स र कर्मचारीहरुलाई वरिष्ठता र योग्यताअनुसार समयमा स्थायी र बढुवा गर्ने व्यवस्था गर्ने। नियम तथा मान्यता मिचेर नेता (नर्स, कर्मचारी, चिकित्सक र प्राविधिकहरु) र पदाधिकारीहरुको नातागोता तथा पार्टीका कार्यकर्ताहरुलाई नियमविपरीत पदस्थापना, स्थायी र बढुवा नगर्ने तथा गरेकालाई खारेज गर्ने।
च) थप शुल्क लिएर दिइने इएचएस सेवाअन्तर्गत शल्यक्रिया लगायतका सेवालाई तुरुन्त कार्यान्वयन गर्ने।
छ) शौचालयहरु थप्ने, सरसफाइका लागि आवश्यक सामग्रीको व्यवस्था गर्ने तथा अस्पतालका बिरामीहरुलाई असर नपर्ने गरी इन्सीनरेटरको व्यवस्थापन गर्ने।