Connect with us

समाचार

‘गाँजा त खोल्नै पर्ने रहेछ’

Published

on

चेतना गुरागाईं, २३ कार्तिक। चुनावपछि बन्ने नयाँ संसदले के गाँजा प्रयोग खुला गर्ला?

यो कुनै लहडी प्रश्न होइन।

न्यूजिल्यान्डकी नवनिर्वाचित प्रधानमन्त्री ज्यासिन्डा आर्डनले ‘गाँजालाई वैधानिकता दिन संसदमा छलफल थाल्ने’ घोषणा गरेकी छन्। सन् २०२० देखि ‘उमेर हद तोकेर’ गाँजा खुला गर्ने उनको चुनावी एजेन्डा नै थियो।

आर्डनको यो एजेन्डा पनि कुनै व्यक्तिगत लहड होइन।

गाँजा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरेको छ। धेरै देशमा यसको प्रयोग वैधानिक भइसकेको छ।

उरुग्वे पहिलो देश हो, जसले गाँजा सेवनलाई कानुनी मान्यता दियो। नेदरल्यान्ड्स, स्पेन, दक्षिण अफ्रिका, कोलम्बियाजस्ता देशले उरुग्वेलाई पछ्याएका छन्। अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, इजरायल लगायतमा यसको औषधि प्रयोग गर्न छुट छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्राड्यूले गाँजालाई कानुनी मान्यता दिने विधेयक संसदमा पेस गरिसकेका छन्।

नेपाल भने यस्तो देश हो, जहाँ पहिल्यैदेखि गाँजाको आयुर्वेदिक ओखती प्रयोग हुँदै आएको थियो। सन् १९७० दशकमा अमेरिकी दबाबले गाँजा प्रतिबन्धित भयो। अमेरिकाका २२ राज्यले औषधिको मान्यता दिँदा के हामी आफ्नो प्राचीन आयुर्वेद परम्परामा फर्कन तयार छौं?

प्रतिनिधि र प्रदेशसभा चुनावको संघारमा हामीले यसबारे सम्बन्धित विज्ञहरूसँग कुराकानी गर्यौं। हामीले सोध्यौं, ‘के नयाँ संसदले गाँजा प्रयोगलाई कानुनी मान्यता दिनुपर्छ?’

सिंहदरबार वैद्यखाना प्रमुख वंशदीप शर्मा खरेल यो विषय बहसमा ल्याउनुपर्ने बताउँछन्।

गाँजा प्रतिबन्धित हुनुलाई नै पूर्वीय र पश्चिमी दर्शनको ‘विवाद’ मान्ने खरेल भन्छन्, ‘पश्चिमीहरू पहिला यो ठिक हो भन्दै आउँछन्, हामी पछ्याउँछौं। अलि वर्षपछि फेरि पहिलेकै कुरा ठिक रहेछ भन्छन्, हामी अलमल्ल पर्छौं।’

‘गाँजामा त्यस्तै भएको हो,’ उनले सेतोपाटीसँग भने, ‘संसारका धेरै देशले गाँजाको आयुर्वेदिक महत्व स्वीकार गरेपछि हामीले थप अनुसन्धान गरेर खुला गर्ने कि नगर्ने बहसमा ल्याउनुपर्छ।’

त्रिभुवन विश्वविद्यालय, आयुर्वेद क्याम्पस प्रमुख डिबी रोका पनि गाँजा प्रतिबन्ध पुनर्विचार गरिनुपर्ने बताउँछन्।

‘परापूर्वकालदेखि हामीसँग रहेको अनुसन्धानले नै गाँजाको फाइदा पुष्टि गरेको छ,’ उनले भने, ‘नयाँ सरकार वा संसदले फेरि अनुसन्धान गराए हुन्छ, तर अहिलेजस्तो पूर्ण प्रतिबन्ध उपयुक्त छैन।’

फाइदा के?

कुनै समय लागुऔषधका रूपमा लिइने गाँजा वैधानिक बन्दै जानुको कारण यसको फाइदा वैज्ञानिक रूपले पुष्टि हुनु हो।

गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन्। खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ। शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ।

केही दिनअघि मात्रै गाँजा र यौनसम्पर्कबारे एक अनुसन्धान रिपोर्ट सार्वजनिक भएको थियो। ‘जर्नल अफ सेक्सुअल मेडिसिन’ को उक्त रिपोर्टले भन्छ, ‘गाँजा सेवन गर्नेको यौन क्षमता नगर्नेको तुलनामा बढी हुन्छ।’

अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता डा. माइकल आइजनवर्ग र डा. एन्ड्रियू सनले उक्त रिपोर्ट तयार पारेका हुन्। उनीहरूले सन् २००२ देखि २०१५ सम्म गाँजा सेवन गर्ने २५ देखि ४५ वर्ष उमेर समूहका ५० हजार जनाको अनुसन्धान गरेका थिए। सहभागीलाई एक वर्षमा कतिपटक गाँजा सेवन गरेको र त्यसको चार सातासम्म कतिचोटि यौनसम्पर्क राखेको भन्ने प्रश्न सोधिएको थियो। उनीहरूले सामान्य अवस्थाभन्दा गाँजा सेवनपछि धेरैपटक यौनसम्पर्क गरेको बताएका थिए।

वैज्ञानिक अनुसन्धानले पुष्टि गरेका यी तथ्य नेपालको आयुर्वेद परम्परामा नौला होइनन्।

गाँजालाई आयुर्वेदमा ‘विजया’ भनेर उल्लेख गरिन्छ।

निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजा (विजया) को औषधि प्रयोग हुँदै आएको सिंहदरबार वैद्यखानाको रेकर्डमा देखिन्छ।

गाँजाको कण मिसाएर तयार पारिने ‘लक्ष्मीविलास रस’ नाकबाट पानी बग्ने रोगमा अचुक ओखती मानिन्छ। अनिद्रा र उच्चरक्तचापका बिरामीलाई दिइने ‘सर्पगन्धा’ मा गाँजाको कण हुन्छ। मानसिक र डिप्रेसनका बिरामीलाई यसैबाट बनेको ‘मोदनानन्द मोदक’ दिइन्छ।

अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका वैज्ञानिकले गाँजा र यौनशक्तिबीचको सम्बन्ध भर्खरै प्रमाणित गरे, जबकि शीर्घ स्खलन रोक्न गाँजाको कणयुक्त ‘पूर्णचन्द्रोदय रस’ वैद्यखानाले धेरैअघि उत्पादन गर्थ्यो। वैद्यखानाकै ‘भोग सुन्दरी’ भायग्राजस्तै यौनशक्ति बढाउने आयुर्वेद औषधि हो।

बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजा प्रयोग हुँदै आएको वैद्यखानाका खरेलले बताए। उनका अनुसार क्यान्सर बिरामीलाई गाँजा मिसाइएको औषधि दिँदा पीडा कम हुनुका साथै निराशाबाट बाहिर ल्याउन मद्दत गर्छ। ‘रामबाण रस’ वा ‘रातोबरी’ भन्ने औषधिले जस्तोसुकै झाडापखाला निको पार्ने उनको दाबी छ। यी दुवैमा गाँजाको कण हुन्छ।

खरेलले २०४५ सालको अनुभव सुनाए।

उनी काभ्रेको मंगलटार स्वास्थ्य चौकीमा काम गर्थे। त्यतिबेला त्यहाँ पुग्न पनौतीबाट एक दिन पैदल हिँड्नुपर्थ्यो। आठ-नौ वर्षकी एक बालिका झाडापखालाले इन्तु न चिन्तु हालतमा ल्याइयो। स्वास्थ्य चौकीमा न औषधि थियो न त जीवनजल।

‘मैले रातोबरी खुवाएर नुन, चिनी, पानी पिलाइदिएँ, ऊ भोलिपल्टै हिँडेर घर गई,’ उनले भने।

सरकारले पश्चिमी प्रभावमा गाँजालाई लागुऔषधको वर्गमा राखेपछि वैद्यखानाले यस्ता धैरै औषधि उत्पादन गर्न छाडेको छ।

‘लागुऔषधसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताले पनि हाम्रो हात बाँध्यो,’ खरेलले भने, ‘भारतबाट आउने कतिपय औषधिमा भने अहिले पनि गाँजा प्रयोग भेटिनसक्छ।’

उनका अनुसार औषधिका रूपमा गाँजा प्रयोग दुई किसिमबाट हुन्छ।

कुनैमा आवश्यकताअनुसार गाँजाको छिटा मात्र हानिन्छ। यसलाई ‘भावना प्रक्षेपण’ भनिन्छ। अर्को, गाँजाको बीजबाट सोझै ओखती पनि बनाइन्छ। भावना प्रक्षेपण मात्र गरिएका कतिपय औषधिमा यसको प्रयोग नखुलाइएको हुनसक्ने उनले बताए।

गाँजाका पात पिनेर, बीउ घिउमा भुटेर वा दूधमा पकाएर पनि औषधि बनाउन सकिन्छ। सामान्यतया अन्य आयुर्वेदिक सामग्रीमा थोरै गाँजा प्रशोधन गरी ओखती बनाउने चलन छ।

यहाँनिर भने पश्चिमी र यताको शैली फरक रहेको खरेल बताउँछन्।

‘पश्चिमीहरूले कच्चा रूपमै गाँजा प्रयोग गर्न खोजेका छन्, चुरोटको धुवाँ उडाएजस्तो,’ उनले भने, ‘हामी भने ओखतीका रूपमा प्रयोग गर्न खोजिरहेका छौं।’

यति हुँदाहुँदै गाँजा स्वास्थ्यलाई पूरै ‘फाइदाजनक’ छ भन्ने होइन। यसले हृदयगति बढाउने, धुवाँले श्वासप्रश्वास प्रणालीमा असर गर्ने तथा सामान्य शारीरिक गतिविधिमा प्रभाव पार्ने देखिएको छ।

थुप्रै शोध र प्रयोगबाट अनुसन्धानकर्ताले निकालेको निष्कर्षअनुसार गाँजाले त्यतिबेला मात्र सकारात्मक प्रभाव पार्छ, जब यसको प्रयोग नियन्त्रित र सही परिमाणमा हुन्छ।

आयुर्वेदले पनि यही भन्छ।

‘पृथ्वीमा रहेका सम्पूर्ण चिज अमृत पनि हुनसक्छ, विष पनि हुनसक्छ,’ आयुर्वेद क्याम्पस प्रमुख रोकाले भने, ‘कुनै पनि तत्व मात्रा, उद्देश्य र प्रयोग मिलाएर खायो भने औषधि हुन्छ भन्ने आयुर्वेदको मान्यता हो। गाँजा त्यस्तै हो।’

आयुर्वेद भर्सेज आधुनिक विज्ञान

कुनै बेला अमेरिकी लगायत पश्चिमी दबाबमा गाँजा प्रतिबन्ध भएजस्तै धेरै आयुर्वेद औषधि जोखिमपूर्ण अवस्थामा छन्।

पारो (मर्करी) यसको अर्को उदाहरण हो।

पछिल्लो समय पारोलाई हानिकारक खनिज तत्व मान्दै कम प्रयोग गर्ने भनिएको छ। अस्पताल क्षेत्रमा त पारोयुक्त थर्मामिटर, रक्तचाप नाप्ने यन्त्र प्रतिबन्धित भइसके। जबकि, धेरै आयुर्वेद औषधिमा पारो प्रयोग हुन्छ। पारो प्रशोधन गरी हानिकारक तत्व झिकेर ओखती बनाइँदै आएको खरेलले जानकारी दिए।

‘पश्चिमीहरू पारो पूरै निरुत्साहित गर्न खोजिरहेका छन्,’ उनले भने, ‘गाँजाजस्तै पूर्ण प्रतिबन्धित गर्ने हो भने हामीले धेरै आयुर्वेद औषधि बन्द गर्नुपर्छ।’

‘यही आधारमा हामी विजया (गाँजा) र पारोको आयुर्वेदिक प्रयोगमा लचिलो हुनुपर्ने विषय छलफलमा लैजाँदै छौं,’ उनले भने।

रोका पनि पारो प्रयोग प्रतिबन्धित हुनुले समग्र आयुर्वेदमै असर पर्ने बताउँछन्।

‘प्राचीनकालदेखि पारोको औषधि खाएर मान्छे मरेको रेकर्ड छैन, बरु बाँचेकै छन्,’ उनले भने, ‘हामीले पश्चिमाहरूको प्रभावमा परेर पारो प्रतिबन्धित गर्यौं भने २५–३० वर्षपछि गाँजाजस्तै कसरी खुला गर्ने भनेर छलफल गरिरहेका हुनेछौं।’

आयुर्वेदले औषधि मानेका जस्ता (जिंक), तामा लगायत खनिज तत्व पनि विस्तारै स्वीकार्य हुँदै गएको उनले बताए।

‘आधुनिक विज्ञानले हाम्रो शरीरलाई जस्ता, तामा, फलामजस्ता तत्व चाहिन्छ भनी प्रमाणित गरिसकेको छ,’ रोकाले भने, ‘आज यो सर्वव्यापक भइसक्यो। झाडापखाला रोक्न जिंक चक्की दिइन्छ। रगतको कमी हुँदा आइरन चक्की खुवाइन्छ।’

‘गाँजा पनि कुनै दिन यसैगरी सर्वव्यापक र सर्वस्वीकार्य हुनेछ,’ उनले भने।

त्यतिबेलासम्म नेपालले प्राचीन कालदेखि आफूसँग रहेको गाँजाको आयुर्वेदिक ज्ञान परिस्कृत गरेर प्रयोगमा ल्याउनुपर्ने उनले बताए। स्वास्थ्य मन्त्रालय, वैद्यखाना लगायत सरोकारवाला निकायले एकीकृत कार्यक्रम बढाउनुपर्नेमा उनको जोड छ।

‘सरकारले आवश्यकता महशुस गर्यो भने हामी विश्वविद्यालयका आयुर्वेद प्राध्यापकहरूसँग सरसल्लाह गर्न सक्छ। हामी यसका फाइदा–बेफाइदा केलाएर बताउन सक्छौं। प्रशोधनको तह र परिमाण खुलाएर कुन–कुन औषधिमा प्रयोग गर्न सकिन्छ भनी सिफारिस गर्न सक्छौं,’ उनले भने।

‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ भनेजस्तै गाँजाको आयुर्वेदिक प्रयोग नजानेर वा डराएर त्यत्तिकै राख्दा ज्ञान खेर जाने उनले बताए।

‘अन्तर्राष्ट्रिय स्तरमै यसको प्रयोग खुला हुँदै जाँदा हामीले आफ्नो ज्ञान सदुपयोग गर्न सक्यौं भने गाँजाको औषधि निकासी गर्ने सम्भावना पनि म देख्छु,’ उनले भने।

वैद्यखाना प्रमुख खरेल त गाँजाको आयुर्वेदिक ज्ञान र अनुसन्धान ‘पेटेन्ट’ गरेर सुरक्षित राख्नुपर्ने खाँचो औंल्याउँछन्।

‘गाँजाका औषधि वैज्ञानिक अनुसन्धानले पुष्टि गरेपछि अब हामीले आफूसँग भएको ज्ञान जोगाउनुपर्ने खाँचो बढेको छ, नभए यो मासिन वा चोरिन सक्छ,’ उनले भने, ‘वैद्यखाना, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग सबै निकायले मिलेर काम गर्नुपर्छ।’

‘पश्चिमाहरूले जुन औषधिको महत्व आज आएर बुझे, आयुर्वेदले त्यो दस हजार वर्षअघि नै थाहा पाइसकेको थियो। हाम्रा पुर्खाले परापूर्वकालदेखि गाँजाका औषधि प्रयोग गर्दै आएका थिए, त्यसलाई ब्युँताउने अभिभारा अब हाम्रो काँधमा छ। हामीसँग अनुसन्धान छ, ज्ञान छ, त्यसलाई प्रयोग गर्ने नीति मात्र छैन। सरकारले प्रस्ट नीति लिए हामीलाई अघि बढ्न सजिलो हुने थियो,’ उनले भने।

पछिल्लो समय वैद्यखाना मल्लकालीन औषधिहरू पुनः उत्पादन गरी प्रयोगमा ल्याउने योजनामा लागेको उनले जानकारी दिए। आज गाँजाको महत्व फैलिएजस्तै कुनै दिन ती सबै औषधि खोजबिन हुन थाल्ने उनको विश्वास छ।

नेपालमा गाँजा

नेपालमा गाँजा उत्पादन र बिक्री इतिहास लामो छ। तराईका बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजा उत्पादन हुन्थ्यो।

दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको मानिन्छ। ‘हिप्पी’ युगको सुरुआतसँगै काठमाडौंमा गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्न थालेको थियो। त्यतिबेला यहाँ ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए। विदेशीहरू स्वतन्त्र रूपमा ‘ब्रान्डेड’ गाँजा खान असन र न्यूरोडका पसल आइपुग्थे।

यसको बढ्दो व्यापारसँगै सरकारले सन् १९६१ मा लागुऔषध ऐन जारी गर्यो। लगत्तै अर्को वर्ष उत्पादन, बिक्री तथा आयात/निर्यातमा अनुमतिपत्र लिनुपर्ने नियम बनायो।

गाँजा नेपालको राजस्वमा ठूलो हिस्सा ओगट्ने व्यवसाय हुँदै गर्दा समयले कोल्टे फेर्यो। राष्ट्रसंघबाट दबाब आएपछि सरकारले गाँजा उत्पादन र किनबेचविरुद्ध सन् १९७३ जुलाई १६ देखि धरपकड थाल्यो।

त्यसबेला राष्ट्रसंघको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ ले गाँजालाई हिरोइनजस्तो कडा लागुऔषधको दर्जामा राखेको थियो। आफ्नो नीतिअनुसार गाँजा प्रतिबन्ध लगाउन सहयोग नगरेको भन्दै राष्ट्रसंघले नेपालको चर्को आलोचना गर्यो। एसिया र पश्चिमी देशमा अझै प्रतिबन्धित नभएको गाँजा तुरून्तै प्रतिबन्ध लगाउन उसले दबाब दियो।

खासगरी हिप्पी कालमा काठमाडौं छिरेका कतिपय अमेरिकी ‘लागुऔषध सेवन गर्न’ यतै बस्न थालेपछि अमेरिका चिन्तित थियो। र, उसकै दबाबले नेपालमा प्रतिबन्ध लाग्यो।

गाँजाको महत्व हामीकहाँ परम्परागत रूपले नै स्वीकारिएको छ।

उतिबेला बूढापाकाले अनिद्रा र शारीरिक पीडा हटाउन तथा एक्ला, अशक्त र पट्यारलाग्दा दिन बिताउन गाँजा सेवन गर्ने चलन थियो। भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावर उपचार गर्न र साधुहरूलाई दान दिन पनि गाँजा प्रयोग हुन्थ्यो।

नेपालमा हिन्दु धर्मको प्रभावले गाँजा चलनमा आएको पाइएको छ। नेपाल र भारतमा फागु पर्व बेला गाँजाको फूल (भाङ) खाने चलन छ। आयुर्वेदको अन्तिम वर्षका विद्यार्थी प्रशान्त बस्नेतका अनुसार गाँजा भनेको स्त्रीलिंगी बिरुवा हो भने भाङ पुलिंगी। ‘यी दुईबीच परागसेचन भएर वंश अघि बढ्ने हो,’ उनले भने।

यति मात्र होइन, हिन्दु धर्मका भगवान शिवले समुद्र मन्थन बेला अमृत शुद्धीकरण निम्ति शरीरबाट गाँजा उत्पादन गरेको धर्मशास्त्रमा छ। अर्को व्याख्याअनुसार त्यही अमृतको थोपा जमिनमा परेपछि गाँजाको बिरूवा उम्रेको हो।

गाँजा उत्पत्तिका विभिन्न व्याख्या भए पनि यसलाई हिन्दुहरूले शिवको प्रसाद मानेर सेवन गर्ने चलन छ। धर्मशास्त्रले गाँजा पाप पखाल्न र शिव भगवानसँग निकट हुन सेवन गरिने भनेको छ। विशेष चाडपर्वबाहेक जहिले पायो, त्यैले सेवन गर्नु पाप हो भनेर पनि व्याख्या गरिएको छ। नेपालमा गाँजा प्रतिबन्धित भए पनि अचार निम्ति दाना बेचबिखन बन्देज छैन।

गाँजालाई मान्छेको दैनिक व्यवहारमा पनि उपयोगी मानिएको छ। नेपालको मध्यपश्चिम पहाडमा यसले दाउरा आपूर्ति गर्छ। यसको चोपबाट चरेस उत्पादन हुन्छ, जुन महँगो हुनाले ‘ब्ल्याक गोल्ड’ भनिन्छ। गाँजाको रेसाबाट कपडा र पातबाट उच्च कोटीको प्रांगारिक मल बनाइन्छ।

क्यानडाको अनुभव

मंसिरको चुनावपछि बन्ने नयाँ संसदले गाँजालाई कानुनी मान्यता दिने निर्णय गर्यो भने पनि कार्यान्वयन सजिलो छैन। लामो छलफल र तयारीको खाँचो पर्नेछ। यसमा क्यानडाको अनुभव सहयोगी हुनसक्छ।

क्यानडेली प्रधानमन्त्रीले संसदमा पेस गरेको विधेयकअनुसार अबको आठ महिनामा गाँजा प्रयोग वैधानिक हुँदैछ। केन्द्रीयदेखि प्रान्तीय सरकारहरू तयारीमा जुटेका छन्।

न्यूयोर्क टाइम्सका अनुसार यो निर्णयले क्यानडाका १० प्रान्तमा प्रभाव पार्नेछ। तीमध्ये तीनवटाले मात्र गाँजा बजार सञ्चालन र नियमन खाका तयार पारेका छन्। बाँकी सात प्रान्त छलफल क्रममै छन्।

सबभन्दा महत्वपूर्ण प्रश्न, वैधानिक भएपछि गाँजाको मूल्य कति हुने र कति कर लिने भन्ने हो। यसबारे केन्द्र र प्रान्त दुवै तहमा छलफल जारी छ। सरकारी बिक्री केन्द्रमा मात्र बेच्ने कि सबैतिर खुला गर्ने भन्ने पनि प्रस्ट छैन। एक व्यक्तिलाई कति परिमाणसम्म गाँजा उत्पादन वा सेवन गर्न छुट दिने? यो प्रश्न पनि अनुत्तरितै छ।

गाँजा खुला भएसँगै कालोबजारी बढ्छ। तस्करी मौलाउनसक्छ। यसलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्र बलियो बनाउनुपर्छ।

गाँजा सेवनपछि गाडी चलाउन अनुमति दिने कि नदिने भन्ने प्रश्न पनि छ। कसैले गाँजा खाएको छ कि छैन भनेर मदिराजस्तो सजिलै थाहा हुँदैन। यसको नशामा सवारी चलाउनु जोखिमपूर्ण भने हुन्छ।

तयारी स्तरमा क्यानडाले झेलिरहेका यी प्रश्न भोलि नेपालको निम्ति सबक हुनसक्छ।

अर्को चुनौती भनेको अन्तर्राष्ट्रिय सन्धि–सम्झौता हो।

लागुऔषधसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिले गाँजालाई प्रतिबन्धित सूचीमै राखेको छ। उक्त सन्धिको एक हस्ताक्षर मुलुक क्यानडाले गाँजा खुला गर्नुअघि चित्तबुझ्दो जवाफ दिनुपर्ने चासो उठिरहेको छ।

नेपाल पनि उक्त सन्धिको हस्ताक्षर मुलुक हो।

पश्चिमी दबाबमा गाँजा प्रतिबन्धित गरेको देशलाई फेरि त्यही सन्धिका नाममा प्रतिबन्ध जारी राख्ने दबाब पर्ने नै छ।

सेतोपाटि बाट साभार

 

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

एमडी/एमएस, एमएन, एमपिएचको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेबाट खुल्ने

Published

on

काठमाडौं भाद्र २७। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।आयोगले एमडी/एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिइ, एमएन, एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी एमआइटी लगायतका विषयमा परीक्षाका लागि अनलाइन फर्म खुला गर्ने भएको हो।

कोरोना भाइरसको महामारीका कारण परीक्षा ढिला हुन लागेको हो। यसअघि आयोगले क्यालेन्डर प्रकाशित गर्दै जेठमा परीक्षा गर्ने तयारी गरेको थियो।

 

Continue Reading

समाचार

स्वास्थ्यकर्मीको स्तरबृद्धि एक हप्ता भित्र गर्न नेपाल निजामती कर्मचारी संगठनको माग

Published

on

काठमाडौँ, ११  असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको लामो समय  देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ।

कार्यसमितिले बुधबार  महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको नेतृत्वमा गएको टोलीले  महानिर्देशक डा दीपेन्द्ररमण सिंहको ध्यानाकर्षण गराएको हो  ।

ध्यानाकर्षण पत्र

 

 

 

 

Continue Reading

समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय गुणस्तर संगठन(आईएसओ)को मान्यता

Published

on

जेठ २७ काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले मंगलबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।  प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय स्तरको  मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुणा झालाईउपलब्ध गराइएका  थिए  । आइएसओ मान्यता पाउने सरकारी प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था भएको छ ।

कार्यक्रमका  प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको मा खुसि व्याक्त गर्दै प्रयोगशालाका सम्पूर्ण टिमलाइ  धन्यवाद दिएका थिए । उनले एक जनाको कोरोना भाइरस परिक्षण विदेश पठाउन परेको स्मरण गर्दै अहिले प्रति दिन RT PCR  ५ हजार जनाको परिक्षण भैरहेको र अब छिटो १० हजार प्रति दिन गराउनु पर्ने कुरामा जोड दिए ।

‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  उनले आफुले कोभिड १९ सङ्क्रमणका लागि विभिन्न माहाशाखाका प्रमुखहरुलाई छुट्टाछुट्टै टिम बनाएर कार्य गर्न निदेशन दिएको जनाकारी गराएका थिए।

कार्यक्रममा बोल्दै  प्रयोगशालाकी   निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि ठुलो  उपलब्धि रहेको भन्दै  प्रयोगशालाका सम्पूर्ण टिमलाइ धन्यवाद दिएकी  थिइन् ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार