Connect with us

जनस्वास्थ

भयबित डाक्टर र त्रासपूर्ण वातावरणमा बिरामी !

Published

on

शम्भु खनाल,१७ असोज।” डाक्टरकोमा जान डर लाग्ने भो । कहिले नक्कली डाक्टर । कहिले कहाँ अस्पातलअं मान्छे मरेछन् । अहिले आन्दोलन रे । मेरो पित्तथैलिको अपरेसन गर्ने भन्थे । अब डर लाग्यो । …….पैसा मात्र लिन्छन् । …। ” भन्दै एक खाइलाग्दो जिउडाल भएकी उमेरले सालाखाला ३० देखिने चाडपर्बका मौसमी वस्त्रले सुसाज्जित महिला आफ्नो साथीलाई सुनाउँदै थिइन् । केहि असन्तुस्टि, केहि रिस र केही भय उनको आवाजमा मिश्रित थियो । र केहि सत्य केहि भ्रम र केहि अज्ञानता थियो उनको बिचरामा र मनोबिज्ञानमा । बेलाबेलामा कुरामा पूर्णबिराम लगाइदिने कोहि भए हुने जस्तो लागेको थियो मलाई ।

भर्खरैको चिकित्सकहरुको आन्दोलनको सरगर्मी र त्यसको चित्त नबुझ्दो अबतरण पस्चात मनमा उमंग पलाउला भन्ने उद्देस्यले दसैं मनाउन नारायणगढ जाँदै गर्दा सार्वजनिक बसको यात्रामा सुनेँ यी कुराहरु । ती कुराहरुलाई गम्भिरतापुर्बक बिचार गर्न वाध्य भएँ । धेरै कुराले च्वास्स पार्यो मलाई । यसो बिचर गर्दा यतिका बर्षमा बिरामीको उपचार गर्न र सल्लाहा दिन बाहेक केही ज्ञान सिकिएको छैन । । उपचार गर्दै गर्दा हरेक दिन आफ्नो चिकित्सा ज्ञान केही माझिएको अनुभुती हुन्छ । तर जनमानसको मनोबिज्ञान र सोचको एउटा प्रतिनिधि उदाहरण प्रत्यक्ष अनुभव गर्दा नरमाइलो लाग्यो । त्यसैले शब्दमै उतारेर भए पनि प्रतिक्रिया दिने प्रयास गरेँ ।

किताबमा लेखिएको जस्तो बिरामी सधैं कहाँ हुन्छ र ! बिरामी कुनै बस्तु हैन । न त रोग त्यसको “फिचर । ” बिरामी त एउटा ब्यक्ती हो । जसलाई लक्ष्यणहरुको संग्रह अध्ययन गरी सबैभन्दा मिल्दो रोगको उपयुक्त उपचार गरिन्छ । चिकित्सा शास्त्र गणितीय फर्मुलामा चल्दैन । धेरै जसो रोगको सहि तरिकाले खोज्दा सहि निदान हुन्छ भने केही रोग मायाबी निस्कन्छन् । ति मायाबी रोगले चिकित्सकक्लाई पनि रणभुल्ल पार्छन् । बिरामीसँग रोग मात्रै नभएर उसको चेतना ,मनोबिज्ञान ,बिचार सबै साथमा हुन्छ । । चेतना भएकै हुनाले बिरामी बस्तु कदापि मान्न मिल्दैन । मानिस बिचारले बनेको हुन्छ । उसको बिचार र मनोबिज्ञानले डाक्टरलाई दानब देख्दछ भने विश्वाशको कमीले ताल्मेल मिल्दैन । दुई बिचको बिस्वासको तार कमजोर हुनु असफल उपचारको पहिलो नमिठो सुरुवात हो । बिडम्बना भन्नुपर्छ । त्यो बिस्वासको तार अहिले चुडिएको छ ।

हाल दुबै पक्षमा मनभित्रको भयको आयतन फराकिलो हुँदै गएको देखिन्छ । डाक्टरलाई बिरामी उपचार गरेर बिनाकारण कुटाइ खाइञ्छ कि भन्ने भय भने बिरामीलाई यो कतै नक्कली डाक्टर हो कि अथवा कतै उल्टोसुल्टो उपचार हुने हो कि भन्ने भय । एक अर्कासँग भयको बातावरणमा त दुबैजना उम्कने र जोगिने परिपाटी सिर्जना हुन्छ नै । उपचार गर्ने डाक्टर अरुको ज्यान बचाउने ध्यान भन्दा आफ्नै टाउको जोगाउने ध्याउन्नमा हुनु अस्वाभाबिक नहोला । त्यसैले मेरो अनुरोध ” हामीलाई डाक्टर नै रहने गरी विश्वाश गर्नुहोस् । हामीलाई वकिल नबनाउनुहोस् । ”

मानवीय त्रुटी सबैबाट हुन्छ । डाक्टर पनि एउटा चिकित्सासम्बन्धी केही ज्ञान लिएको मानव हो । तर त्रुटि न्यून भन्दा पनि न्युन हुन डाक्टर अत्यन्तै सम्बेदनशिल हुनु आवस्यक हुन्छ । किनकि डाक्टर एउटा रोगीको जीवन र उसँग जोडीएका जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । गल्ति गर्नेलाई उन्मुक्ती हुनुहुँदैन । चाहे त्यो डाक्टर होस् वा बिरामीको मृत्युपस्चात हुल्दंगा गर्ने लाशका ठेकेदारहरु । एउटा कुराको अपरेसन गर्नुपर्नेमा अर्को अपेरासन गर्नेलाई कानुनले कस्नुपर्छ नै । तर सबै भबितब्यका घटनालाई अनुसन्धान बिना भीडको अवेसले लापरबाहीको संज्ञा दिएर लाशमाथि ब्यापार गर्ने हो भने बारम्बार घटिरहने कुट्पिट र हातपातका घटनाले असुरक्षित महसुस गरेर डाक्टरले बिरामीको रोगलाई सुरक्षाको तराजुमा तौलिन थाल्छ । बिरामीको सामाजिक आर्थिक मनोबैज्ञानिक सबै पाटोहरु ओझेलमा पर्दै जानेछन् । दया र करुणाले भन्दा रोगको प्रक्रिती हेरेर बिरामी हेर्ने र पन्छाउने बानी बिकास हुन्छ नै । त्यसैले मेरो अनुरोध ” हामीलाई सुरक्षित महसुस हुन दिनुहोस् । अनि मात्रै हामी तपाईंको रोगलाई र बिचारलाइ महसुस गर्न सक्छौँ । ”

फलानो रोगको बिरामी भर्ना भए यति दिन भर्नाको यतिउती पैसा भनेर बिरामीलाई मौद्रिकिकरण नगरिएको पनि हैन । त्यस्तो गरी नाफाघाटाको तराजुमा तौलेर इमान्दार ब्यापारिक सेवाको भावनालाई कुल्चिँदै बिरामीलाई केबल पैसाको रुपमा हेर्ने पनि छन् यहाँ । सेवा र सुबिधा अनुसार शुल्क हुनु बेठीक हैन । तर शुल्क र सेवामा फरक भएर निजी ब्यापारिक दृष्‍टिकोणका अस्पतालबाट धेरै बिरामी नठागिएका पनि हैनन् । तर पूर्वाधार , स्थान ,जनशक्ति र नियत केहि पनि अध्ययन नगरी कुना कुनामा पोल्य्क्लिनिक ,अस्पताल आदि खोल्न अनुमति दिने बढी दोषी हुन् कि आफ्नो ज्ञानलाई सदुपयोग गर्न खटिएको तलबी डाक्टर ? जसलाई केहि तलब दिएर नियुक्ति गरिएको हुन्छ । बास्तबिक संचालक सँग त बिरामीको भेट नै हुँदैन । कमसेकम यमर्जेन्सीमा भेटिने पहिलो डाक्टर भन्दा माथि धेरैले भेटेका हुदैनन् । खर्च भएको सबै पैसा डाक्टरले लग्यो भन्ने सोच पनि गलत हो । डाक्टरले प्राप्त गर्ने केहि मात्रै हो । त्यसैले मेरो अनुरोध ” आवेशमा डाक्टरमाथि हातपात नगर्नूहोस् । ऊ त एउटा अगाडि राखिएको सिपाही मात्र हो । ”

सबल उपकरण ,सबल पर्याप्त जनशक्ति खडा नगरिकन जबर्जस्ति सेवा दिनुपर्ने अवस्थामा डाक्टरको मात्र दोष देख्नु कत्तिको न्यायोचित होला ? बिरामीको पीडाको सबैलाई चिन्ता हुन्छ । तर सेवामा खटिएको डाक्टरले कस्तो अवस्थामा काम गरेको छ भन्ने कसैलाई चिन्ता हुँदैन। अचानाको पीर् खुकुरीले कसरि जानोस र ! बिरामीको चाप अनुसार जनशक्तिको ब्यबस्था गर्न नसक्ने सरकारले डाक्टरलाई मात्र कानुनमा कस्न खोजेको देख्दा सरकारको गृहकार्य नपुगेको प्रस्ट हुन्छ । सेवाबिस्तार सँगै पर्याप्त जनशक्ति नखटिँदा उपचारमा दुर्घटनाको सम्भावना बढ्छ नै । अब के त्यसको दोष पनि डाक्टरलाई नै दिने ? डाक्टरले आराम गर्ने मौका पाए कि पाएनन् । पारिश्रमिक उपयुक्त छ कि छैन । उपकरण कमसल र कमजोर भएर अप्ठेरो त छैन । यी कुराहरु नितान्त डाक्टरका मात्र चासोको बिशय सोचिन्छ । कसैको ध्यान पुग्दैन । सबैलाई डाक्टर भनेको सुविधाले भरिपूर्ण भएको पैसा कमाउन मात्रै बसेको जस्तो लाग्दो रहेछ । फुर्सदमा सबैले नेपालका डाक्टरको सुबिधाको अध्ययन गरे आफ्नो सोच र वास्तविकता उजागर होला ।

कार्यस्थलमा डाक्टरलाई बिरामी हेर्न राम्रो बिपी सेट पनि चाहिन्न ! तापक्रम नाप्न त हातैले छामेर भैहाल्यो ! ओटी लाइट नभए टुकीले नि अपरेसन चलिहाल्छ !! अपरेसन पछि पोस्ट अप वार्ड किन चाहियो र !! त्यसलाई रेखदेख गर्न नर्सिङ स्टाफ राख्न परेन ! ! यो सुन्दा बढी भने जस्तो लागे पनि दुर्गमको अस्पतालमा यस्ता अनेक समस्याहरु दिनहुँ झेल्नुपर्छ । अवस्था यस्तै नै हो । कसैले भन्ला कि ” डाक्टरले आफुलाई काम गर्ने बातावरण असजिलो र जोखिमपूर्ण भए किन आवाज उठाउनुहुन्न? “. मेरो कुरा बिस्वास गर्नुहोस् ” हामी काम गर्ने कारिन्दा हौँ । हामीसँग सोधिदैन । र हामीले भनेको पनि सुनुवाई हुँदैन । ”

मिडियाले जनमानसको बिचारलाई आकार दिने काम गर्दछ । संचारको प्रगति भए लगत्तै समाचार प्रेषण हुने असंख्य ईन्टरनेटका साइट र पत्रपत्रिकामा अधिकाम्श अध्ययन र अनुसन्धान बिना चिकित्सा सम्बन्धी घटनाहरु प्रकाशित गरेको पाइन्छ । । सामचारले अबचेतन मस्तिस्क त असर गर्छ नै । मेडिकल बिज्ञान सम्बन्धि ज्ञान नभएका व्यक्तिहरुमा भ्रम सजिलै फैलाउने काम पनि गरेको छ । जसले गर्दा डाक्टर र बिरामी बिचको सम्बन्धको दूरी बढ्दै गएको छ । त्यसैले सबै समाचार सत्य होलान् भनेर बिस्वास गर्नुपूर्ब बुझ्ने प्रयत्न गरौँ । नकारात्म्क सोच्न सजिलो हुन्छ । नकारात्मक सोचले आफ्नै बिचार प्रदुषित नगरौँ । केहि समय अगाडि नक्कली डाक्टर भनेर प्रपञ्च रचेर समातिएका डाक्टर पछि निर्दोश साबित हुनु नै एउटा यस राज्यमा भएको गैरजिम्मेवारीको नमुना हो । भ्रमपूर्ण समाचार छाप्दा दिर्घकालीन असर पर्ने हेक्का राखौँ । त्यसैले मेरो अनुरोध ” हाम्रो चिकित्सा क्षत्र मिडिया संक्रमित छ । जिम्मेवार संचार माध्य्म र आम नागरिकले सोचेर बुझेर प्रतिक्रिया दिने गर्नुपर्छ । ”

डाक्टरले बिरामीसँग सुधार्नुपर्ने मुख्य पाटो भनेको सम्बाद हो । बिरामीसँग कुरा नगर्दा बिरामीका आफन्ती अन्योलमा हुन्छन् । उनीहरुको मनमा संकाले ठाउँ लिन्छ । बोल्दा पैसा पर्ला जस्तो गर्ने डाक्टर पनि छन् । बिरामीलाई यथेस्ट समय दिएर कुरा गर्ने डाक्टर पनि छन् । बिरामीले आफ्नो उपचारको बारेमा जान्न पाउने हक छ । डाक्टरले उपचारको बिबिध पक्ष बिरामीलाई भन्नुपर्छ । सबै चिकित्सकहरुमा मेरो अनुरोध ” केहि समय खर्च गरौ बिरामीको संका उपसंका निबारण गर्नलाई । ” बिरामीसँग मेरो अनुरोध ” तपाईं सोध्नुहोस् । संका हटाउनुहोस् । हामि आफ्नो ज्ञानले सकेसम्म बुझाउने प्रयास गर्छौ । हामीलाई बिस्वास गर्नुहोस । हामीलाई सुरक्षीत महसुस हुन दिनुहोस् । ” गल्ति भए माफी माग्दै सबै सुखी रहून् भन्ने मेरो शुभकामना ।
स्रोत : शम्भु खनाल को ब्लग

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

जनस्वास्थ

स्वास्थ्यकर्मी किन हुन सकेनन सर्वोत्कृष्ट कर्मचारी ?

Published

on

काठमाडौं, भाद्र २६, प्रकाश  परियार।  निजामती सेवा दिवस मुल समारोह समितिको २००७७ साल भाद्र ९ गते बसेको बैठकको निर्णय अनुसार “स्वच्छ र सक्षम निजामती प्रशासन :समृद्धि र सुशासन “भन्ने नाराका साथ सुसम्पन्न भयो। औपचारिक रुपमा २०१३ साल भाद्र २२ गते निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा २०६१ साल देखि सरकारले नियमित रुपमा निजामती सेवा दिवस मनाउँदै आईरहेको छ। यसै क्रममा यस वर्ष १७ औँ निजामती सेवा दिवस मनाइयो।कोभिड-१९ को कारण सदाको वर्ष जस्तै तामझामका साथ यो दिवस नमनाए पनि सरकारले तोकेका न्युनतम स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्दै कर्मचारी जगतमा प्रफुल्लित हुँदै एक आपसमा शुभकामना आदानप्रदान गर्दै सफल बनाइयो।

प्रसिद्ध जर्मन समाजशात्री /दार्शनिक म्याक्स वेबरले जसरी नियम कानुनमा आधारित एक संवेदनशील र आदर्श कर्मचारीतन्त्रको परिकल्पना गरेर सोही बमोजिम हरेक कर्मचारीहरुले आफुलाई एउटा परिपाटी अथवा पद्धति भित्र राखी, संवेदनशील,आदर्श , उदाहरणीय र सक्षम कर्मचारीको रुपमा उभ्याउन जरुरी छ। सायद त्यसैले होला यस वर्षको निजामती सेवा दिवसको नारा पनि त्यस्तै प्रकृतिको सिङ्गो निजामती प्रशासनलाई सुशासन भित्र रहि स्वच्छ,सक्षम नेतृत्वको आधारमा समृद्धिलाई परिकल्पना गरिएको ।

नेपालको संविधान २०७२को धारा -२८५ मा देशको प्रशासन संचालन गर्न संघीय निजामती सेवा र  आवश्यकता अनुसार अन्य संघीय सरकारी सेवाहरुको गठन गर्न सक्ने प्रावधान उल्लेख छ। देश संघीयतामा गए पश्चात् हाल विभिन्न ११ वटा सेवाहरुलाई समाविष्ट गरि एउटै एकीकृत निजामती सेवा ऐन बन्ने तयारीमा छ ।जुन संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भैइसकेको छ यद्यपि त्यसमा कर्मचारीहरुको केही विमति भने रहेको छ।तथापि स्वास्थ्य सेवा ऐनद्वारा छुट्टै संचालित नेपालको स्वास्थ्य सेवा सो एकीकृत ऐन लागू भए पछि त्यस मै गाभिने र संचालन हुने निश्चित छ। विगत १७ वर्ष देखि निजामती सेवा दिवसका अवसरमा विभिन्न कार्यक्रम, सभा ,समारोह गरि तामझामका साथ पेशागत मुल्य ,मान्यता र निष्ठालाई आत्मबोध गर्दै उच्च नैतिक आचरण ,व्यावहार र कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई पुरस्कृत गरि यो दिवस मनाउने गरिन्थ्यो । यस वर्ष भने ठुला सभा समारोह र गोष्ठी नभए पनि कर्मचारीलाई पुरस्कृत गर्न भने छुटाईएन ।विगत आठ नौ महिना देखि कोभिड-१९ को विश्वव्यापी महामारीका कारण सारा विश्वजगत नै ठप्प प्राय छ र नेपाल पनि यसबाट अछुतो छैन।यहाँ पनि दिनानुदिन संक्रमण फैलिदो छ ।कोभिड-१९ लाई परास्त गर्न सिङ्गो निजामती सेवाको एक तिहाई ओगटेको स्वास्थ्य सेवा (सरकारी सेवामा रहेको मात्र ) रातदिन युद्धमा होमिएका सैनिक जसरी लडिरहेका,भिडिरहेका र सेवामा खटिरहेका छन।

झन्डै एक लाखको हाराहारीमा रहेका प्रशासन सेवाका कर्मचारी र करिब तीस हजार भन्दा बढीको संख्यामा रहेका स्वास्थ्य सेवाका कर्मचारी लगायत ११ वटा सेवालाई समेटेर बन्न लागेको एकीकृत निजामती सेवा ऐनलाई नजरअन्दाज गरि यसवर्ष पनि निजामती सेवा दिवस मनाइयो र ४० जना कर्मचारीहरुलाई पुरस्कृत पनि गरियो।निजामती सेवा नियमावली २०५०को नियम ११६ को उपनियम २(१) अनुसार सरकारको मुख्यसचिव अध्यक्ष रहने पुरस्कार सिफारिस समितिमा सदस्य सचिव सामान्य प्रशासन मन्त्रालय तथा सदस्यहरुमा सचिव कानुन मन्त्रालय ,सरकारले तोकेको नेपाल सरकारको कुनै सचीव र विशिष्ट श्रेणीबाट सेवा निवृत्त कर्मचारी मध्य नेपाल सरकारले तोकेको व्यक्ति रहने कानुनी प्रावधान छ।यसरी यो समितिले उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारीहरुलाई पुरस्कारको लागि नेपाल सरकार समक्ष नामावली सिफारिस गर्दा एक तिहाई हिस्सा ओगट्ने र विषम परिस्थितिमा अहोरात्र आफ्नो जिउ ज्यान, घर परिवार आफन्त कहिँ कोहि नभनी सेवामा जुटेका राष्ट्र सेवाक कर्मचारीहरु मध्येबाट मुस्किलले एक जना पर्नु विडम्बना नै रहेको छ। निजामती सेवा दिवसको अवसरमा सम्माननिय प्रधानमन्त्री देखि मुख्य सचिव ,सामान्य प्रशासन मन्त्रालयका माननीय मन्त्री देखि सचिव सम्मले सिङ्गो कर्मचारी तन्त्रलाई शुभकामना संदेश दिनुभएको छ। सोचनिय कुरा के छ भने सबैजनाले दिएका उत्कृष्ट शव्दावली सहितको शुभकामना संदेशमा कोरोना भाइरस संक्रमण (कोभिड-१९) को विषय वस्तु र विषम परिस्थितिको बारेमा उल्लेख गर्न कसैले पनि छुटाउनु भएको छैन।सम्माननीय प्रधानमन्त्रीले दिएको शुभकामना संदेशमा “विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिनु भएका राष्ट्र सेवकहरु प्रति यस अवसरमा सम्मान समेत प्रकट गर्न चाहन्छु ।” भनी उल्लेख छ साथै “कोभिड-१९ लगायत समय समयमा आउने बाढी , पहिरो,आगलागी जस्ता प्राकृतिक विपद्का अवस्थाहरुमा कर्मचारीहरुले देखाएको परोपकारी भावना र सम्पादन गरेको गरेको कामको प्रशंसा गर्न पनि विर्सनु भएको छैन।भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले पनि “कोभिड-१९ को संक्रमण ,रोकथाम तथा नियन्त्रणको अग्रपंक्तिमा रहेर निजामती सेवामा कार्यरत कर्मचारीले पुर्याएको अतुलनीय योगदानको लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।” भनी आफ्नो शुभकामना संदेशमा उल्लेख गर्नु भएको छ।यसैगरी मुख्यसचिवले पनि आफ्नो शुभकामना सन्देशमा “मुलुक कठिन परिस्थितिमा रहेको अवस्थामा सेवा प्रवाह ,विपद व्यवस्थापन र राष्ट्रिय विकासका गतिविधिहरुलाई निरन्तरता प्रदान गर्ने लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा निजामती प्रशासनले निर्वाह गर्दै आएको भुमिका प्रशंसनीय छ भनी आफ्ना मिठा शब्द खर्चिनु भएको छ।तर विडम्बना यति ठुलो महामारीलाई परास्त गर्न आफ्ना दुधे बच्चा समेतलाई घरमा छोडेर सेवामा अहोरात्र तल्लीन तथा आफू र रोगले थलिएका वयोवृद्ध परिवारका सदस्य समेतको प्रवाह नगरी महामारी रोकथाम र नियन्त्रणमा खटिएका सिपाही (स्वास्थ्यकर्मीहरु) को बेवास्ता गरिनुले म्याक्स वेबरले परिकल्पना गरेको कर्मचारीतन्त्रलाई नै गिज्याईरहेको अनुभुती दिलायो।

हिजो स्थानीय निकायहरुमा झन्डै दुई दशक जनप्रतिनिधि विहीन हुँदा र प्रशासन सेवाका कर्मचारीहरु जिल्लाका सदरमुकाम केन्द्रित हुँदा पनि गाउँ गाउँमा सिटामोल तथा जीवनजल जस्ता सामान्य  औषधि खान नपाएर छट्पटीमा बसेका बिरामीको उपचार देखि हरेक नागरिकका बालबच्चाहरुलाई खोप लगाउने स्वास्थ्य सेवाका कर्मचारीहरुलाई दोस्रो दर्जाको कर्मचारी तन्त्रको रुपमा हेरिनु आफैमा लज्जास्पद कुरा हो। यसवर्ष उत्कृष्ट काम गरे बापत पुरस्कार प्राप्त गर्ने ४० जना कर्मचारीहरुको विवरणलाई हेर्दा कहिँ कतै लाग्दैन पेशागत मर्यादा ,व्यवसायीक निष्ठा र निष्पक्षताका साथ ती नामावली तयार भए भनेर। यदि हुँदो हो त ती नामावली सिंहदरबार केन्द्रित ,सहर वा सुगम केन्द्रित ,माथिल्लो तहका वा भनौ उच्च पदस्थ अधिकारी केन्द्रित मात्रै नहुँदो हो ।अझ गजबको कुरा त के छ भने २०७३ साल देखि हालसम्म सबै सेवा समुहका गरि डेढलाख भन्दा बढी कर्मचारीहरुबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनौट हुन सकेको छैन। देश संघीयतामा गएपछि हाल नेपालमा तीन तहका सरकारले काम गरिरहेका छ्न भने कर्मचारी समायोजन ऐन १०७५ अनुसार ती तीनै तहमा कर्मचारीहरु पनि समायोजित भई कामकाज गरिरहेका छन तर विडम्बना ४० जना कर्मचारी छनौट हुँदा जम्मा दुई जना कर्मचारी स्थानीय तहमा कार्यरत छनौट हुनु र प्रदेश मातहतको एकै जना नपर्नुले पनि हाम्रो राजनीति र कर्मचारीतन्त्रको केन्द्रीकृत मानसिकतालाई छर्लङ्ग पार्दछ।

निजामती सेवा  नियमावली २०५० को नियम ११६ को  उपनियम १(क) मा नेपाल सरकारले निजामती कर्मचारीलाई पुरस्कार प्रदान गर्दा त्यस्तो कर्मचारीले गरेको मुख्य काम र योगदान उल्लेख गर्नुपर्ने छ भनी स्पष्ट व्यवस्था गरेको छ तर पुरस्कार प्राप्त गर्ने ४० जनाले गरेको कामको विवरण कहिँ कतै उल्लेख नगरिनुले आम कर्मचारीहरुको मानस्पटलमा अनेकौं प्रश्न उठ्नु अस्वभाविक होईन ।

  • अधिकांश प्रशासन सेवाका मात्रै कर्मचारी सिफारिस हुनु।
  • प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी सिफारिस नहुनु।
  • अक्सर सिंहदरबार भित्रका कार्यालयमा कार्यरत कर्मचारी मात्रै छनौट हुनु,दुर्गममा अनेकौं दु:ख कष्ट गरि काम गर्ने भन्दा सुगम र सहर केन्द्रित कर्मचारीहरु सिफारिस हुनु।
  • अधिकांश तल्लो तहका काम गर्ने भन्दा फाइल सदर गर्ने माथिल्लो ओहदाका अधिकारीहरु सिफारिस हुनु।
  • पुरस्कारको लागि योग्य हुनको कारण उल्लेख नगर्नु तथा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को रोकथाम र नियन्त्रणमा रातदिन खटेका कर्मचारीहरु ( चाहे ती प्रशासन सेवा कै किन नहुन) सिफारिस हुन नसक्नु।

जस्ता विभिन्न कुराले पुरस्कार छनौट, सिफारिस र निजामती सेवा दिवस मनाउने कुरा निष्पक्ष ,निष्ठावान ,पेशागत मर्यादा भित्र नरही निजामती कर्मचारीहरु माथी लाग्ने तमाम परोक्ष आरोपहरुबाट माथी उठ्न नसकेको प्रष्ट हुन्छ भने निजामती सेवाका संरचनाहरुलाई संघीय शासन व्यवस्था अनुसार रुपान्तरण गरि तीनै तहका वीच संरचनागत ,कार्यगत र भावनात्मक अन्तरसम्बन्ध सुमधुर र समन्वयात्मक भएको पनि देखिएन ।

स्वास्थ्य सेवाका कर्मचारीहरु किन सिफारिस हुन सकेनन् ?

सिङ्गो विश्व नै डिसेम्बर ३१ गते पुष्टि भएको पहिलो कोभिड-१९ को संक्रमण पश्चात् द्रुतगतिमा करिब २१५ वटा देश भरि फैलिएको संक्रमणबाट आजित भईरहेको छ। यति ठुलो महामारीलाई रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्य सेवाका कर्मचारीहरु मुलतः प्राविधिक हिसाबले विज्ञ र सक्षम हुन्छन्। विगत आठ नौ महिना देखि हाम्रो देश पनि कोभिड-१९को कारण ठप्प जस्तो छ।सुरुका केही महिना नेपाल सरकारले बन्दाबन्दी घोषणा गरेसँगै सरकारको मुखपत्र भनेर चिनिने राजपत्रमा सुचना प्रकाशित गरि स्वास्थ्य सेवा र सुरक्षा निकायका राष्ट्र सेवक कर्मचारी बाहेकका सबैखाले कर्मचारीहरुलाई सार्वजनिक विदा दिइएको थियो।तर स्वास्थ्य सेवाका तल्लो तह देखि उच्च पदस्थ अधिकारी ,स्थानीय तह देखि संघीय सरकारका कर्मचारी कसैलाई पनि न छुट्टी थियो न त सरकारले घोषणा गरेको जोखिम भत्ता नै सबैले पाए। प्रशासन सेवाका कर्मचारीहरुले जोखिम भत्ता बुझ्दा स्वास्थ्यकर्मीहरुले टुलुटुलु हेरेर बसेका समाचारहरु नआएका पनि होइनन् ।
स्वास्थ्य सेवाका कर्मचारी सिफारिस नहुनुका कारणहरु
– स्वास्थ्य सेवाका प्राविधिक कर्मचारीहरु विशुद्ध प्राविधिक काममा मात्रै केन्द्रित हुनु।
– पुरस्कार छनौट तथा सिफारिस समितिमा स्वास्थ्य सेवाका कर्मचारीहरुको पहुँच नहुनु ।
– स्वास्थ्य सेवालाई निजामती सेवा भन्दा बाहिर राखेर हेरिनु।
– स्वास्थ्य सेवामा समूह उपसमुह धेरै हुनु।
– स्वास्थ्य सेवा ऐन छुट्टै हुनु।
– प्राविधिक कर्मचारीहरुले ऐन ,नियम ,कानुन प्रति भन्दा बढी पेशा प्रति ध्यान दिनु।
– राजनीतिले अति संवेदनशील स्वास्थ्य सेवालाई नजरअन्दाज गर्नु जस्ता कारणले अहोरात्र खटिएका ,पेशागत मर्यादालाई सधैं शिरोपर गर्ने स्वास्थ्य सेवाका कर्मचारीहरु निजामती सेवा दिवसका अवसरमा प्रदान गरिने उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्नबाट वन्चित हुनु परेको जस्तो लाग्छ।

स्वास्थ्यकर्मीहरुलाई निजामती सेवा पुरस्कार प्रदान गर्न सकिने आधारहरु:- निजामती सेवा नियमावली २०५०को नियम ११६ क(१)ले प्रत्येक वर्ष निजामती सेवा दिवसको अवसरमा समितिले सिफारिस गरेको निजामती कर्मचारीहरु मध्येबाट सर्वोत्कृष्ट निजामती कर्मचारी १ जना ,उत्कृष्ट निजामती कर्मचारी १० जना र निजामती सेवा पुरस्कार ३० जना गरि जम्मा ४१ जना कर्मचारीहरुलाई पुरस्कृत गरिने स्पष्ट व्यवस्था गरेको छ।यद्यपि विगत ४ वर्ष देखि सर्वोत्कृष्ट कर्मचारी छनौट हुन सकेको छैन । कोभिड -१९को महामारीमा कोरोना संक्रमितको पहिलो जांच गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,पहिलो बिरामी उपचार गर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल देखि दुरदराजमा सेवा प्रदान गर्ने स्वास्थ्य चौकी सम्मका संरचना र त्यसमा काम गर्ने जनशक्ति र महामारीको व्यवस्थापनमा रातदिन तल्लीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग देखि स्थानीय तहका स्वास्थ्य शाखा सम्मका व्यवस्थापकीय कर्मचारीहरुले आफ्नो र परिवारको वास्त नगरी सेवामा खटिएका कर्मचारीहरु मध्येबाट एकजनालाई विगत ४ वर्ष देखि प्रदान नगरिएको सर्वोत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गर्न सकेको भए सायद नेपाल सरकार ,देशको प्रशासनिक बागडोर सम्हालेका प्रशासक देखि राजनैतिक नेतृत्वको पनि कहिँ कतै आलोचना हुने थिएन होला साथै म्याक्स वेबरले परिकल्पना गरेको संवेदनशील ,नियम,कानुनमा आधारित आदर्श कर्मचारी तन्त्रको मुल मर्म सार्थक भएको महशुल हुने थियो। सरकारले सार्वजनिक विदा दिई लामो समय विदामा बसेका निजामती प्रशासनका कर्मचारीहरुले गरेको कार्यसम्पादनलाई उत्कृष्ट मानी पुरस्कृत गरिरहँदा रातदिन सेवामा तल्लीन स्वास्थ्य सेवाका कर्मचारीहरु तथा सुरक्षा निकायका राष्ट्रसेवकहरुले कम कार्यसम्पादन पक्कै गरेका थिएनन् होला।कानुनी रुपमा केही जटिलता देखिएता पनि यो विषम परिस्थितिमा एउटा विशेष निर्णय गर्न नेपाल सरकारलाई त्यति विध्नबाधा पर्थ्यो जस्तो लाग्दैन ।

सिफारिस भएर आएको निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम मन्त्री परिषद्ले नै अनुमोदन गर्ने कानुनी व्यवस्था रहेको र मन्त्री परिषद्ले नै विशेष निर्णय गरि स्वास्थ्य सेवा र सुरक्षा निकायका राष्ट्र सेवक कर्मचारी बाहेकका कर्मचारीहरुलाई विदा दिन सक्ने तर एउटा त्यस्तै प्रकृतिको विशेष निर्णय गरि अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरुबाट एकजना सर्वोत्कृष्ट कर्मचारी मनोनयन गर्न नसक्ने भन्ने नै हुँदैन जस्तो लाग्छ । त्यसमा पनि स्वास्थ्य सेवा ऐन २०५३ को दफा ८६ (ख)मा निजामती सेवा ऐन ,२०४९ बमोजिमको सुविधा पाउन सक्ने भन्ने स्पष्ट उल्लेख छ। यसरी स्वास्थ्य सेवा र निजामती सेवालाई फरक ऐनले निर्देशित गरेको भएता पनि : – माथी उल्लेखित दफालाई आधार बनाई निर्णय गर्न सकिने अवस्था , विशेष परिस्थितिमा विशेष प्रकृतिको निर्णय गर्न सक्ने नेपाल सरकारलाई अधिकार सहितको व्यवस्था,संसदीय समितिबाट पारित भएको र संसदबाट पारित हुन बाँकी रहेको एकीकृत निजामती सेवा ऐनलाई आत्मसात गरि खुल्ला हृदयबाट निर्णय / सिफारिस गर्न सकिने जस्ता यथेष्ट आधार हुँदाहुँदै पनि ४० जनामा एकजना मात्र स्वास्थ्य सेवाका कर्मचारी पर्नु सिङ्गो स्वास्थ्य सेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरु प्रतिको अवमूल्यन भएको आम मानिस तथा सबै स्वास्थ्यकर्मीहरुको बुझाई छ।

अन्त्यमा राष्ट्र सेवक कर्मचारी जुनसुकै सेवा समुहको भएता पनि आफ्नो योग्यता ,दक्षता र क्षमता अनुसारको राष्ट्रको लागि आ-आफ्नो पेशागत मर्यादा भित्र रहि गरिने काममा फरक देख्ने र दुई थरी व्यवहार हुनु किमार्थ राम्रो पक्ष होइन तसर्थ भोलि एकीकृत निजामती सेवा ऐन कार्यान्वयन भएपछि कहिँ कतै यस्ता अमर्यादित ,अव्यवहारिक र अशोभनीय काम नहुने र सम्बन्धित सेवा समुहको प्रतिशतको आधारमा हरेक गतिविधिमा सिफारिस निर्धारण हुने अपेक्षा सहित सम्पुर्ण कर्मचारीहरुलाई उच्च मनोभावनाका साथ काम गर्ने अभिप्रेरणा मिलोस शुभकामना । धन्यवाद !

Continue Reading

जनस्वास्थ

स्वास्थ्य तर्फ ९० अर्ब ६९ करोडको बजेट, के के छन् महत्वपूर्ण कार्यक्रम

Published

on

काठमाडौं, जेठ १५ — बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडालेआर्थिक वर्ष २०७७/०७८ को बजेट  प्रस्तुत  गरेका छन्। स्वास्थ्यलाई केन्द्रित गरेर ल्याइएको बजेटमा स्वास्थ्य मन्त्रालयको बजेट वृद्धि गर्दै ९० अर्ब ६९ करोड बनाइएको छ ।यसअघि स्वास्थ्यको बजेट ६७ अर्ब रहेको थियो ।

महत्वपूर्ण कार्यक्रमहरु

१. कोभिड—१९ मा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको ५ लाखको बिमा, कोरोना रोकथाम तथा नियन्त्रणका लागि ६ अर्ब

२. काठमाडौंमा ३ सय शैय्या र प्रत्येक प्रदेशमा ५० बेडको संक्रामक रोग अस्पताल खोल्न १२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन

३. उपत्यकाका ठूला अस्पतालमा २ सय ५० बेड आईसीयुसहितका थप गर्नको लागि १२ अर्ब ४६ करोड विनियोजन

४. ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’सहित स्थानीय तहमा चिकित्सक कार्यक्रम प्रभावकारी बनाउन ५ अर्ब

५. राजमार्गमा निश्चित दुरीमा  ट्रमा सेन्टर स्थापना गर्ने

६. कान्ति बाल अस्पतालमा थप आईसीयु बनाइने

७. निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यस्वस्था

८. विपद्का बेला निजी क्षेत्रका अस्पतालालाई उपयोगमा ल्याउन सकिने व्यवस्था

९. निरोगी नेपाल अभियान चलाइने

१०. राष्ट्रिय रोग निदान केन्द्रको स्थापना गर्ने

११. कोरोना उपचारका लागि तत्काल चाहिने औषधी उपकरणका लागि ६ अर्ब

१२. स्वास्थ्य पूर्वाधार विकास गर्न १२ अर्ब ४० करोड

१३. केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्क

१४. आगामी वर्ष नेपाल पूर्ण खोपमुक्त घोषणा गर्ने

१५. तीन वर्षदेखि सबैको स्वास्थ्य विमा र सबै स्थानीय तहलाई ४० प्रतिशत विमाको दायरामा ल्याउन ७ अर्ब

१६. स्थानीय तहमा २७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड

१७. प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने

१८. सबै प्रदेशमा आधुनिक प्रयोगशाला

१९  महिला स्वयंसेविका सेविकाको यातायात भता दोब्बर बनाइने

२०. सबै राष्ट्र सेवकको १ लाखको कोरोना विमा गरिदिने

Continue Reading

जनस्वास्थ

लक्डाउनमा: बन्दीपुर अस्पतालमा पहिलोपटक गर्भवती महिलाको सफल शल्यक्रिया

Published

on

तनहुँ:   बन्दीपुर अस्पतालमा पहिलोपटक गर्भवती महिलाको सफल शल्यक्रिया भएको छ ।
बन्दीपुर गाउँपालिका–२ स्थाई घर भएकी राधिका भण्डारीको मङ्गलबार शल्यक्रिया बाट सफल प्रसुती भएको हो । सुत्केरी व्यथा लागेपछि सोमबार राति अस्पताल भर्ना भएकी भण्डारीको शल्यक्रिया गरि प्रसुती गराइएको  अस्पतालका मेडिकल सुपरिटेण्डेट डा डिबी क्षेत्रीले जानकारी दिए । डा क्षेत्रीका अनुसार आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा क्षेत्रीको नेतृत्वमा भएको शल्यक्रियामा  ऐनेस्थेसिया अशिस्टेन्ट प्रशान्त केसी, स्टाफ नर्स सीमा सापकोटा क्षेत्री लगायतको सहयोगमा गर्भवती महिलाको शल्यक्रिया गरिएको हो ।
कोभिड–१९ को जोखिमले गर्दा  बन्दाबन्दी  रहेको अवस्थामा घर नजिकैको अस्पतालमा शल्यक्रिया गराउन पाउँदा  खुशी लागेको राधिकाका श्रीमान् दुर्गाबहादुर भण्डारीले बताएका छन्  । निक साइमन्स इन्स्टिच्युटको सहकार्यमा विगत चार महिनादेखि बन्दीपुर अस्पतालमा आकस्मिक शल्यक्रियाकक्ष स्थापना भएको थियो । शल्यक्रियाकक्ष स्थापना भएको चार महिनापछि पहिलोपटक गर्भवती महिलाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

Continue Reading
Advertisement " />

प्रमुख समाचार