रक्षा गिरी,जनस्वास्थ्यकर्मी
२०
साउन। विश्व स्तनपान दिवस हरेक वर्ष अगस्ट १ देखि अगस्ट ७ गते सम्म विश्वका सम्पूर्ण देशहरुमा मनाउने गरिन्छ । स्तनपान सप्ताह सर्वप्रथम सन् १९९२ मा डव्लु.ए.बि.ए (World Alliance for Breast feeding Action) ले सुरुवात गरेको हो । पछि विश्वका १२० भन्दा बढि देशहरुमा युनिसेफ (United Nations International Children Emergency Fund), डब्लु. एच. ओ ( World Health Organization) ले मनाउन थाल्यो । नेपालमा पनि २०७४ श्रावन १७ देखि २३ गते सम्म २५ औ विश्व स्तनपान सप्ताह “Sustaining Breast Feeding Together” अर्थात “सबै मिली स्तनपानलाई दिगो बनाऔ भन्ने नाराको साथ मनाइदै छ ।
स्तनपान भनेको एउटा प्रक्रिया हो जसमा आमाको दुध बच्चालाई चुसाइन्छ। आमाको दुध बच्चाको पहिलो खोप हो । आमाको दुध बाट बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु प्राप्त गर्दछ जसबाट उसको वृद्धि र विकासमा हुन्छ । स्तनपान बच्चाको स्वास्थ्य भविष्यको लागि पहिलो खुडकीला हो । बच्चा जन्मेपछि आमाको पहिलो पटक आउने पहेलो बाक्लो दुधनै विगौती दुध भनिन्छ । बच्चा जन्मेको जति सक्यो चाडो आमाको दुध चुसाउनु पदर्छ । आमाको दुधमा बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु उचित रुपमा मिलेको हुन्छ । बच्चा जन्मेको ६ महिना सम्म आमाको दुधले नै उसको शरिरको खानाको आपूर्ती गर्ने हुदा, ६ महिना सम्म आमाको दुध मात्र खुवाउनु पर्दछ । बच्चा ६ महिना पुरा भए देखि कम्तिमा २ वर्ष सम्म आमाको दुधको साथसाथै अन्य खानेकुराहरु पनि उचित मात्रामा खुवाउनु पर्दछ ।
नेपालमा स्तनपानको अवस्था
नेपाल जनसंखिक सर्वेक्षणले गरेको २०१६ को सर्भे अनुसार एक घण्टा भित्र स्तनपान गराउने महिला ५५ प्रतिशत रहेका छन् भने ६ महिना सम्म स्तनपान गराउने महिलाहरु ६६ प्रतिशत रहेका छन् । मिक्स (MICS) २०१४ अनुसार नेपालमा पुर्ण स्तनपान गराउने ५७ प्रतिशत रहेका छन् ।
१. E = Early Initiation ( बच्चा जन्मेको जति सक्यो छिटो वा शिशु जन्मेको एक घण्टा भित्र स्तनपान गराउन शुरु गर्ने )
२. E = Exclusive Breast Feeding (पुर्णस्तनपान – ६ महिना पुरा नभए सम्म शिशुलाई आमाको दुध मात्रै चुसाऔ बच्चालाई अन्य खानेकुरा वा पानी पनि दिनुहुदैन् )
३. E = Extended ( बच्चा ६ महिना पुरा भएपछि थप पौष्टिक आहार दिनु पर्छ र कम्तिमा २ वर्ष वा सो भन्दा बढि समय सम्म बच्चालाई स्तनपान गराउन पर्दछ । )
बच्चालाई स्तनपान गराउने उपयुक्त आसनका ४ संकेतहरु
१. बच्चाको टाउँको आमाको नाडीको माथिल्लो भागमा हुनु पर्दछ ।
२. बच्चाको ढाड/चाक आमाको हत्केलामा हुनु पदर्छ ।
३. बच्चाको पेट आमाको पेट संग जोडिएको हुनु पर्दछ ।
४. बच्चाको एक हात आमाको कम्मर पछाडी हुनुपर्दछ ।
स्तनपान गराउदन ध्यान दिनुपर्ने सहि सम्पर्कका ४ संकेतहरु
१. बच्चाको मुख पुरा खोलेको हुनुपर्दछ ।
२. बच्चाको तल्लो ओठ बाहिन फर्केको हुनुपर्छ ।
३. बच्चाको चिउँडोले आमाको स्तन छोएको हुनुपर्छ ।
४. स्तनको धेरै जसो कालो भाग बच्चाको मुख भित्र पसेको हुनुपर्दछ ।
बच्चाले प्रभावकारी रुपले दुध चुसीरहेको चिन्हहरु
१. विस्तारै भित्रसम्म /गहिराइ सम्म चुस्दै विश्राम लिदै गर्छ ।
२. शिशुले दुध निलेको देख्न वा सुन्न सकिन्छ ।
३. गाला पुक्क फुलेको र गोलो भएको देखिन्छ ।
४. बच्चालाई एउटा दुध निखारेर मात्र अर्को दुध चुसाउनु पर्दछ । ( स्तनबाट पहिला आउने दुधमा पानिको मात्रा बढी हुन्छ , जसले शिशुको प्यास मेटाउछ भने पछि आउने दुधमा बढी चिल्लो पदार्थ साथै बच्चालाई चाहिने पौष्टिक तत्व हुन्छ ।)
विगौती दूधको महत्त्व
- विगौती दूधमा विभिन्न रोगहरूसंग लड्ने प्रतिरोधात्मक तत्त्वहरू हुने भएकोले यसले शिशुलाई रोगहरूबाट बचाउँछ ।
ड्ड विगौती दूधले शिशुको शरीरबाट विलिरुबिन नामक तत्त्वलाई निष्काशन गर्न मद्दत गर्छ जसले गर्दा कमलपित्त (जन्डिस) हुन दिँदैन् ।
- विगौती दूधले शिशुलाई खाना नपच्ने वा एलर्जी हुने समस्या हुन दिँदैन् ।
शिशुको लागि स्तनपानको (आमाको दूधको) महत्त्व
- आमाको दूध शिशुको लागि अमृत समान हो । यसले शिशुको जीवन रक्षा गर्छ ।
- शिशुको लागि यो पूर्ण खाना हो । यसमा शिशुलाई छ महिना पूरा नभएसम्म आवश्यक पर्ने सम्पूर्ण पोषक तत्त्वहरू प्रर्याप्त मात्रामा हुन्छ ।
- यो सधै सफा र सुरक्षित हुन्छ ।
- यो सधैं तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ ।
- यसले शिशुको उपयुक्त वृद्धि तथा विकास हुन मद्दत गर्छ ।
- यो शिशुले सजिलै पचाउन सक्छ । यसमा रहेका पोषक तत्त्वहरू शरीरले राम्ररी सोस्न सक्छ ।
- यसले गिजा र दाँतको विकास गर्न सहयोग गर्छ तथा दूध चुसाइले अनुहारको मांशपेशिकाको विकास गर्न सहयोग गर्छ ।
- आमासँग पटक–पटक टाँसेर राख्ने गरेमा स्नेहपूर्ण सम्बन्ध हुन्छ, जसले शिशुको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न पनि सहयोग गर्छ ।
आमाका लागि स्तनपानको महत्त्व
- शिशु जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिटै बाहिर निस्कन्छ ।
- आमाको कामको भारलाई घटाउँदछ । पानी उमाल्न, इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन । आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ । यो सधैं सफा, पोषिलो र ठीक तापक्रमको हुन्छ । यो कम खर्चिलो हुन्छ ।
- आमा र शिशु बीचको माया ममता बढ्छ । बच्चाले आफूलाई सुरक्षित महसुश गर्छ ।
- महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सरको खतरालाई घटाउँदछ ।
- महिनावारी नफर्किएको अवस्था तथा शिशु जन्मेको पहिलो छ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा ९८ प्रतिशत गर्भनिरोधकको रूपमा काम गर्छ ।
परिवारका लागि स्तनपानको महत्त्व
- अन्य दूध खुवाउँदा शिशु बिरामी भएर लाग्ने औषधि खर्च हँुदैन । आमा र शिशु दुबै स्वस्थ रहन्छन् ।
- समयको बचत हुन्छ, किनभने आमाको दूध साधै तयारी र भनेको समयमा पाइन्छ ।
समुदाय वा राष्ट्रका लागि स्तनपानको महत्त्व
- स्वस्थ शिशु पछि स्वस्थ नागरिक बन्छ र देशको विकासमा सहयोग पुर्याउँछ ।
- बाल रोगहरूमा आउने कमीले यसको उपचारमा हुने राष्ट्रिय खर्च घटाउँछ । बाल मृत्युदर घटाउँछ ।
स्तनपान नगराँउदा शिशुलाई पर्न सक्ने जोखिमहरू
- शिशुको मृत्यु हुने जोखिम उच्च हुन्छ (पहिलो ६ महिनासम्म स्तनपान गरेको शिशुमा भन्दा स्तनपान नगरेको शिशु मर्ने सम्भावना १४ गुणा बढी हुन्छ)
- एक घण्टाभित्र शिशुलाई स्तनपान नगराउँदा शिशुको मृत्यु हुने सम्भावना तीन गुणा बढी हुन्छ ।
- अन्य दूधमा रोग प्रतिरोधात्मक क्षमता हुँदैन । साथै पचाउन पनि गाह्रो हुन्छ ।
- आमाको दूध नखुवाउनाले शिशुमा पोषण न्यून हुने जोखिम बढि हुन्छ ।
- वौद्धिक क्षमताको परीक्षणमा कमी, स्कूलमा सिक्न सक्ने क्षमतामा कमी, सिकाएको कुरा बुझने क्षमतामा कमी र दिमागको विकासमा कमी आउँछ ।
- पछि गएर मुटु रोग, मधुमेह, क्यान्सर, दम, जस्ता रोगहरूको जोखिम उच्च हुनुको साथै दाँत सम्बन्धी समस्याहरू देखा पर्दछ ।
स्तनपान सम्बन्धी सिफारिस गरिएका व्यवहारहरू
- शिशु जन्मने वित्तिकै आमाको नाङ्गो छातीमा टँसाएर राख्ने ।
- जन्मेको एक घण्टाभित्र स्तनपान गराउन सुरु गर्ने ।
- शिशुलाई ६ महिनासम्म स्तनपान मात्र/पूर्ण स्तनपान गराउने (अरु कुनै खानेकुरा वा झोल पर्दाथ नदिने)
- नवजात शिशुलाई दिन र रातमा गरी कम्तिमा पनि १० देखि १२ पटकसम्म स्तनपान गराउन ।
- माग अनुसार वा ठीक समयमा स्तनपान गराउने ।
- शिशुले दूध पुरै चुसिसकेपछि आफै मुन्टा छोडे पछि मात्र अर्को स्तनमा चुसाउने ।
- शिशु २ वर्ष वा सो भन्दा बढि उमेरसम्म लगातार स्तनपान गराइ राख्ने ।
- शिशु वा आमा बिरामी पर्दा पनि स्तनपान गराइ रहनु पर्दछ ।
- आमाले भोक र तिर्खा मेटाउनको लागि खाना र झोल पर्दाथ खानु आवश्यक छ ।
- बोतलको प्रयोग गरी दूध नखुवाउने ।
स्तनपानसंग सम्बन्धित नीति र नियमहरू
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री, वितरण, नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ ।
यस ऐन तथा नियमावलिले स्तनपान (आमाको दूध) प्रतिस्थापन तथा पाउडर दूध आम रूपमा विक्रीवितरण गर्न नपाईने, महिला आमा वा परिवारका सदस्यहरूलाई प्रभावित पार्ने उद्देश्यले स्वास्थ्यकर्मीलाई उपहार (आर्थिक, भौतिक) नमूना र अन्य कुरा लिन नपाइने, उत्पादकले शिशिबाट खुवाउनु आमाको दूध बराबर छ वा सो भन्दा विशिष्ट छ भनी जनाउने गरी विश्वास पर्ने गरी कुनै पनि प्रकारको विज्ञापन गर्न पाइने छैन भन्ने जस्ता महत्त्वपूर्ण कानूनी व्यवस्था गरेको छ ।
स्तनपान र दिगो विकासको लक्ष्य (SDG)
दिगो विकासको लक्ष्य प्राप्तीको लागि स्तनपान प्रमुख आधार हो । उपयुक्त समयमा स्तनपान गराउदा भोकमरी, असमानता, गरिबि घटाउन मद्दत पुर्याउछ । स्तनपानले बच्चाको स्वास्थ्य राम्रो बनाउछ । जो बच्चालाईृ स्तनपान गराइएको छ, उसको बौद्धिक क्षमता राम्रो पाइएको छ जसले गर्दा उनिहरु राम्रोसँग शिक्षा लिन सक्षम हुन्छन् । स्तनपान लैगिक समानता सँग प्रत्यक्ष सम्बन्धित छ । आमा र बच्चामा थोरै लगानी गर्दा पनि यसका तत्कालीन र दिर्घकालीन फाइदाहरु धेरै छन् जसले देशलाई दिगो विकास तर्फ अग्रसर गर्नुका साथै त्यहाँका नागरिक स्वास्थ्य हुन मदत गर्छ । अन्ततः स्तनपानले दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न प्रतक्ष्य भुमिका खेलिरहेको छ ।
स्तनपान प्रबद्धनमा स्थानीय निकायको भूमिका के हुन सक्छ ?
– स्थानीय निकायका कार्यक्रम, विशेष गरी स्वास्थ्य र पोषण संग सम्बन्धित हरेक कार्यक्रममा स्तनपानलाई प्राथमिकतामा राखी कार्य गर्ने ।
– स्तनपान सम्बन्धी सिफारिस गरिएका व्यवहार लागू गराउन वकालत गर्ने ।
– स्तनपानसँग सम्बन्धित समस्यहरूको लागि नि:शुल्क उपचारको व्यवस्था मिलाउने ।
– आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको विक्रीवितरणलाई नियमन, नियन्त्रण गर्ने ।
– सरकारी तथा गैरसरकारी संघ/संस्थाहरूमा स्तनपान मैत्री कक्षको निर्माण गराउने ।
– राष्ट्रिय नीतिलाई अवलम्वन गरी कार्यान्वयन गर्ने ।